Wed May 18 2022
खेलकुद

नेदरल्याण्ड्सको टोली घोषणा, नेपालको तयारी कस्तो छ ?

त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र एकदिवसीय खेल
काठमाडौं । नेदरल्यान्ड्स क्रिकेट टिमले लर्डस्मा हुने टि–ट्वान्टी सिरिज र नेपालसँग हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि टिमको घोषणा गरेको छ । नेपाल र नेदल्यान्ड्सबीच ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।

आईसीसी क्रिकेट डटकमका अनुसार नेपालसँग खेल्ने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेदरल्यान्ड्सको कप्तान पिटर सिलर रहेका छन् । त्यस्तै, छनोट भएका अन्य खेलाडीहरूमा वेश्लेय बर्नेसी, डेन टेर ब्राक, बेन कोपर, स्कोट इडवार्ड्स, फ्रेडेरिक क्लासेन, बास डे लिड, पाउल भान मिकेरेन रहेका छन् । त्यस्तै, स्टेफन मिबुर्घ, म्याक्स ओडोव्ड, हिडे ओभरडिज्क, शेन स्नाटर र मिचेल रिपोन पनि परेका छन् ।

त्यस्तै, एमसीसी र नेपालसँग हुने त्रिकोणात्मक टि–ट्वान्टी सिरिजका लागि नेदरल्यान्डले पिटर सिलरलाई नै कप्तान बनाएको छ । छनोट भएका अन्य खेलाडीहरूमा वेश्लेय बर्नेसी, स्कोट इडवार्ड्स, क्लायटोन फ्लोयड, फ्रेडेरिक क्लासेन, बास डे लिड, पाउल भान मिकेरेन रहेका छन् । त्यस्तै, म्याक्स ओडोव्ड, हिडे ओभरडिज्क, शेन स्नाटर, मिचेल रिपोन, टोनी स्टल र टोबियस भिसी रहेका छन् । साउन १३ गते इंग्ल्यान्डको लर्डस्मा क्रिकेटकै पुरानो क्लब एमसीसी र नेदरल्यान्ड्ससँग नेपालले त्रिकोणात्मक टि–ट्वान्टी सिरिज खेल्दैछ । त्यस्तै, साउन १६ र १८ गते नेपालले नेदरल्यान्ड्ससँग उसैको भूमिमा ऐतिहासिक २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

नेपाली क्रिकेट टिमले भने यसअघि नै टोलीको घोषणा गरिसकेको थियो । नेपाली टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, शरद भेषवाकर, बसन्त रेग्मी, शक्ति गौचन, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी र ललित भण्डारी रहेका छन् । त्यस्तै, ललितनारायण राजवंशी, आरिफ शेख रोहित कुमार पौडेल, सन्दीप लामिछाने र सोमपाल कामी पनि टिममा छन् । वैकल्पिक खेलाडीमा विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी र सुशान भारी रहेका छन् ।

नेपाली टोली अहिले लण्डनमा अभ्यासमा व्यस्त रहेको छ । यी खेलहुनुपूर्व नेपाली टोलीले आफ्नो लण्डनका विभिन्न स्थानीय क्लबहरुसँग अभ्यास खेल खेलिरहेको छ । पहिलो अभ्यास खेलमा स्थानीय हैम्पसायर होग्स क्रिकेट क्लबमाथि शानदार जित निकालेको नेपाली टोलीले सोमबार सेन्ट क्रस क्रिकेट क्लबसँग १९ रनले पराजय व्यहोरेको छ ।

चार अभ्यास खेल खेल्न लागेको नेपालले अब जुलाई २५ इष्ट लण्डनसँग ५० ओभरको खेल र जुलाई २६ मा इष्ट लण्डन सार्कसँग ट्वान्टी ट्वान्टी अभ्यास खेल खेल्नेछ । त्यसपछि नेपालले जुलाई २९ मा क्रिकेटको मक्का मानिने लर्डस मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेरिलेबन क्रिकेट क्लब (एमसीसी)सँगको त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज खेल्नेछ ।

नेपाल र नेदरल्याण्डसले एकदिवसीय मान्यता पाएको अवसरमा एमसीसीले सम्मानस्वरुप लर्डसमा मैत्रीपूर्ण ट्वान्टी ट्वान्टी सिरिज आयोजना गरेको हो । त्यसपछि नेदरल्याण्डसविरुद्धको डेब्यु ऐतिहासिक एक दिवसीय श्रृखंला खेल्न नेदरल्यान्ड प्रस्थान गर्नेछ ।