Sun May 22 2022
समाचार

दुर्गा प्रसाईलाई कारबाही गर्न माग गर्दै काँग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध कारण बुधबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ । डा‍क्टर गोविन्द केसीका माग पूरा गर्न, बंगलादेशमा अध्यनरत छात्राबारे बीएन्डसी मेडिकल कलेजका दुर्गा प्रसाईंले दिएको अभिव्यक्ति र तरुण दलका कार्यकर्तामाथि बानेश्वरमा भएको दमनबारे गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गर्दै कांग्रेसले विरोध जनाएपछि राष्ट्रियसभा बैठक अबरुद्ध भएको हो ।

बैठकमा कांग्रेसका बद्रि पाण्डेले सरकारको अकर्मन्यताका कारण डाक्टर केसीको स्वास्थ्य अवस्था दयनीय भएको भन्दै सरकारलाई दुईतिहाइको दम्भबाट मुक्त भएर वार्ता गर्न माग गर्नुभयो । उहाले सरकारले अध्यादेशलाई बंग्याएर सरकारले विधेयक ल्याएका कारण समस्या बल्झिएको जिकिर गर्नुभयो । उहाले बंगलादेशमा अध्ययनरत छात्राको अविभावकलाई प्रताडित हुनेगरी आएको अभिव्यक्ति सम्बन्धमा मेडिकल कलेज सञ्चालक प्रसाईंलाई कारवाही हुनुपर्ने माग गर्नुभयो ।

त्यस्तै उहाले कांग्रेसले बानेश्वरमा शनिवार शान्तिपूर्ण प्रदर्शनमा भएको दमनबारे गृहमन्त्रीले राजीनामा दिन माग गर्दे सरकारका तर्फबाट आफहरुले उठाएका बिषयको उचित तवरले सम्बोधन नभए विरोधलाई जारी राख्ने बताउनुभयो । सांसद पाण्डेले बोलेपछि कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए ।

काग्रेस सांसद उठेर विरोध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पटक पटक बस्न आग्रह गर्नुभएको थियो । साथै उहाले बैठकमा समयमा नै उपस्थीत हुन पनि मन्त्रीहरुको ध्यानाकर्षण गराउनुभएको थियो । काग्रेसको विरोध पछि राष्ट्रियसभाको बैठक साउन १६ गते बुधवारसम्मका लागि स्थगन गरिएको छ । यसअघि मंगलबार पनि राष्ट्रियसभाको बैठक अबरुद्ध भएको थियो ।