Sat May 21 2022
फिचर

भरतपुरमा झडप, ५ प्रहरी घाइते

चितवन । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि आज (बुधवार) भरतपुर तनावग्रस्त बन्यो । जिल्ला प्रशासन कार्यालय नजिक प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक,व्यवसायी र प्रहरीवीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रर्दशनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर पाँच प्रहरी जवान घाइते भएका छन् ।

प्रहरी जवान हर्कबहादुर दराई ,नेत्र बुढाथोकी,केशव पाण्डे,सुरज विक र गोपाल पाठक घाइते भएका हुन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक र व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् ।

प्रहरीले दर्जनौ अश्रुग्यास प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । आन्दोलनकारीले प्रहरी चौकिमाथी आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको चितवनका प्रहरी प्रमुख शुशिल सिंह राठौरले बताउनुभयो । प्रहरी र प्रर्दशनकारी विच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तिनपांग्रे चालक र व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले मंगलवारदेखी भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरिरहेका छन् । भरतपुर महानगरपालिकाले गएको साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटो रिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्धा समेत परेको थियो ।

अदालतले वैकल्पिक सडक भएका स्थानमा अटो रिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेको थियो । तथापि सहमति नभएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलवार र बुधबार विहान छलफल भए पनि सहमति हुन सकेन । राजमार्गमा गुड्न पाउनुपर्ने अडान मजदुरहरुले नछाडेपछि सहमति नभएको हो । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनैपनि हालतमा गुड्न नदिने बताउँदै आएको छ ।