Tue Sep 27 2022
खेलकुद

सावित्राको सनसनीपूर्ण प्रदर्शन

एपीएफको जितमा एक्लै ५ गोल
काठमाडौं । काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय टोली एपीएफले शानदार शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बुधबार एपीएफले काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो ।

एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन भने अर्की अनिता केसीले ह्याट्रिक गरिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा अनिता बस्नेत र अनु लामाले समान १–१ गोल गरे । काठमाडौंको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं रौतहटसँग ४–० ले पराजित भएको थियो ।

एपिएफलाई पहिलो खेलमा सहज जित दिलाउन अनिताले ३० मिनेट भित्रै ह्याट्रिक पुरा गरिन् भने सावित्राले त्यसपछि ५ गोल गरेकी थिइन् । पहिलो गोल दोस्रो मिनेटमा गरेकी अनिताले ३० औं मिनेटमा ह्याट्रिक पुरा गरिन् । उनले दोस्रो गोल २० औं मिनेटमा गरेकी थिइन् ।

पहिलो गोल ३२ औं मिनेटमा गरेकी सावित्राले दोस्रो गोल ५९ औं र ६१ औं मिनेटमा अर्को गोल थप्दै ह्याट्रिक पुरा गरिन् । सावित्राले त्यसपछि ८४ औं र ८५ औं मिनेटमा लगातार गोल गरिन् । एपिएफकी अनिता केसी खेलको उमन अफ दी म्याच घोषित भइन् ।

यसैबीच बुधबार नै भएको दोस्रो खेलमा रौतहटले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा गत सोमबार काठमाडौंलाई हराएको रौतहटले बुधबार भएको दोस्रो खेलमा विभागीय टोली पुलिसलाई १–० ले निराश पार्दै लगातार दोस्रो खेल जितेको हो । अस्मिता बैद्यले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

उनले १२ औं मिनेटमा गोल गरेकी थिइन् । लिगमा तीन विभागियसहित ५ टोलीको सहभागिता रहेको छ । राउन्ड रोविन लिगको आधारमा खेलाइएको लिग प्रतियोगिता साउन १५ गते सम्म चल्नेछ ।

लिगको प्रदर्शनका आधारमा महिला साफ च्याम्पियनसिपको लागि खेलाडी छनोटको रुपमा हेरिएको छ । लिगको उत्कृष्ट महिला खेलाडीले जनही २५ हजार पाउनेछ । व्यक्तिगत विधातर्फका गोलकिपर, डिफेन्डर, मिडफिल्ड, फरवार्ड र प्रशिक्षकले समान १० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ ।