Mon May 23 2022
खेलकुद

एसियन गेम्सको खेल तालिका सार्वजनिक

फुटबलमा थपिए युएई र प्यालेष्टाइन

काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगिताको पुनः ‘ड्र’ सार्वजनिक भएको छ । यद्यपि नेपाल रहेको समूह ‘डी’ को टिम भने परिवर्तन भएको छैन । युएई र प्यालेष्टाईनलाई समेट्दै पुनः एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको ड्र सार्वजनिक भएको हो ।

इन्डोनेसियाको जाकार्तामा आगामी महिनामा हुने प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ बाट सेप्टेम्बर १ मा हुँदैछ । नेपाल समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा जापानसहित भियतनाम र पाकिस्तान रहेका छन् । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यसअघि नै गरिएको छ । नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यका साथ कडा अभ्यास गरिरहेको छ ।

एसियाडमा प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स (युएई) छुटेका कारण एसियाड आयोजक समितिले पुन टाइसिट ‘ड्र’ सार्वजनिक गरेको हो । सार्वजनिक भएको ‘ड्र’ अनुसार समूह ‘ए’ मा इन्डोनेसिया, हङकङ, लाओस, चाइनिज ताइपे र प्यालेस्टाइन रहेका छन् । समूह ‘बी’ मा थाइल्यान्ड, उज्वेकिस्तान, बंगलादेश र कतार रहेका छन् । यस्तै समूह ‘सी’ मा इराक, चीन, टिमोर सिस्टे र सिरिया रहेका छन् । समूह ‘ईं’ मा कोरिया रिपब्लिक, किर्गिस्तान, मलेसिया, बहराइन र युएईं रहेका छन् । यस्तै समूह ‘एफ’ मा साउदी अरेबिया, उत्तर कोरिया, इरान र म्यानमार रहेका छिन् ।

एसियाडमा यु–२३ का खेलाडीहरु हुनेछ । ओलम्पिकको नियमअनुसार एसियाडमा सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टोलीका मुख्य प्रशिक्षक जापानी ग्यातुको कोजीको सिफारिसमा एसियाडका लागि २० सदस्यीय टिमको घोषणा गर्दै सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रशिक्षण गरिरहेको छ । एसियाडमा सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई छनोट गरेको छ । विशाल भरत खवासको स्थानमा आएका हुन् । भरतले ग्रोइन इन्जुरीका कारण एसियाड गुमाउने भएपछि उनको स्थानमा कोजीले विशाललाई मौका दिएका हुन् ।