Fri May 27 2022
समाचार

रसुवा पहिरो अपडेटः ४ जनाको मृत्यु, ११ सम्पर्कविहीन

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, रसुवागढी नाका नजिकै टिमुरेमा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ
अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा ४ जनाको ज्यान गएको हो भने ११ जना सम्पर्कविहीन भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले टिमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्टसँगै आसपासका घर तथा होटल पुरिँदा अहिलेसम्म ४ जनाको ज्यान गएको र ११ जना सम्पर्कविहिन भएको जानकारी दिनुभयो ।
पहिरोमा ज्यान गुमाएका र हराइरहेकाहरूको पहिचना खुलेको छैन । पहिरोले केही कन्टेनर तथा ट्रकसमेत पुरेको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
अविरल वर्षापछि सडक अवरुद्ध भएकाले खोजी तथा उद्धारका लागि घटनास्थल पुग्न केही कठिनाइ भएको प्रजिअ पौडेलले बताउनुभयो ।
टिमुरे चीनसँगको उत्तरी नाका रसुवागढी नजिकैको बजार हो । पहिरो पश्चात् चीनसंग सञ्चालनमा रहेको एकमात्र नाका रसुवागढी नाका अबरूद्ध भएको छ । घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।
राति एक बजेको समयमा पहिरो जाँदा प्रहरी चेकपोष्ट समेत पुरिएको जनाइएको छ । पहिरोमा परि घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहको छ भने घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।