काठमाडौं । नेपाल वायु सेवा निगमको दोस्रो जहाज एयरबस ३३० ‘मकालु’ नेपाल भित्रिएको छ ।
विमान ल्याउन निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारसहितको टोली फ्रान्स पुगेको थियो । फ्रान्सको तुलुजबाट करिब ८ घण्टाको उडानपछि उक्त विमान काठमाडौं आइपुगेको हो । बिहिवार बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उक्त बिमानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव कृष्ण देवकोटा लगायतले स्वागत गर्नुभएको थियो ।
जहाज आउनुअघि निगमका उपप्रवन्ध निर्देशक गणेशबहादुर चन्दले आकाश भैरवको पुजा गर्नुभएको थियो । २ सय ७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा ‘विजनेस क्लास’ र २ सय ५६ सिट ईकोनोमी क्लासका छन् । १० करोड ४८ लाख अमेरिकी डलरमा यो विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो ।
सोही ऋणबाट निगमले अघिल्लो वाइडबडी विमान पनि खरिद गरेको थियो । दुबै विमान निगमले अमेरिकी कम्पनी एएआरसँग खरिद गरेको हो । बिमान आएपछि निगमका प्रवन्ध निर्देशक कंशाकारले केहि प्राविधीक कार्य सकिएपछि नयाँ बिमानले उडान भर्ने दाबी गर्नुभयो ।
निगमले एक महिना अघि पहिलो वाईड बढि बिमान भित्राएको थियो ।