Wed Oct 5 2022
मुख्य खबर

चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश

काठमाडौ । सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ ।

शुक्रवार बसेको प्रतिनिधीसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक पेश गर्नुभएको हो । शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डाक्टर गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि केसी उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाएका थिए । सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । बिद्ययेक पेश गर्दे शिक्षामन्त्री पोखरेलले सबैको मर्म र भावना अनुरुप बिद्येयक अघि बढ्ने जानकारी दिनुभयो ।

सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिनुभयो । सूचना फिर्ता लिने क्रममा सांसद गगन थापाले सबैले सामुहिक विवेकले डाक्टर गोविन्द केसीलाई हार्न नदिएको तर्क गर्नुभयो । त्यस्तै सुवालले पेश गर्नुभएको विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ ।

थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिनुभएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बोलाईएको छ ।