अनुप र प्रशान्तमध्ये वर्षा कस्को ?

अनुप र प्रशान्तमध्ये वर्षा कस्को ?
सोमवार, साउन १४, २०७५

काठमाडौं । अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर फिल्म ‘जय शम्भु’ को एक्सनले भरिपूर्ण ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देखाइएको छ ।

२ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय छ । रुपेश तामाङ निर्देशित यो फिल्म काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको हो ।

लभस्टोरी एक्सन जनरामा निर्मित उक्त फिल्ममा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ । राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य छन् । भाद्र १ गतेबाट प्रदर्शनमा आउने यस फिल्मका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।

यसअघि चलचित्रको गीत र टिजर सार्वजनिक भइसकेको छ । चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाएको हो । ‘म त परेँ तिम्रै भर’ सार्वजनिक गरिएको छ । गीतमा चलचित्रका मुख्य कलाकार वर्षा र अनुप नै देखिएका छन् ।

टंक बुढाथोकीको संगीत, अमृता नेपालको शब्द, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अन्जु पन्त र टंक बुढाथोकीले स्वर दिएका छन् । चलचित्रलाई उपत्यकामा विके फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

यसअघि सार्वजनिक भएको टिजरमा पनि वर्षाका लागि मुख्य दुई कलाकार प्रशान्त र अनुपकै टकवार देखाइएको थियो । टिजरमा कलाकार अनुप विक्रम शाही र प्रशान्त ताम्राकारको एक्सनका पाटा धेरै देखाइएको छन् ।

अभिनेत्री बर्षा सिवाकोटी पनि देखिएकी छन् । टिजरले कहिले बर्षा प्रशान्तको अंगालोमा त अनुपको साथमा देखाएको थिइन् । काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको यो चलचित्र एक्सन लभस्टोरी जानरामा निर्माण भएको प्रस्तुतकर्ता दिनेश शाहीले बताए ।

त्यसो त चलचित्रमा चलेका कलाकराकै अभिनय रहेका कारण चलचित्रले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क देखिएको छ । तर, पनि लगानी अनुरुप कथावस्तु अब्बल नभए लगानी उठाउन पनि निर्माण पक्षलाई चुनौती त्यत्तिकै पनि छ ।

पछिल्लो समय नेपाली चलचित्रको बजार ओरालो लागेको अवस्थामा केही नयाँ स्वाद लिएर चलचित्र बजारमा आएको खण्डमा लगानी सुरक्षण गर्ने अवस्थामा पनि देखिन्छ । चलचित्रकी अभिनेत्री वर्षा सिवाकोटी अहिलेले चल्तीकी अभिनेत्री हुन् ।

उनको अभिनय रहेका अधिकांश चलचित्रले बक्स असफसमा सफलता हात पारेका छन् । उनले आफ्नो यो जय शम्भु दर्शकका लागि उत्कृष्ट बनेको दाबी गरिन् । यता चलचित्रका नायक प्रशान्त ताम्राकार पनि चलचित्रबाट निकै आशावादी देखिए । उनी चलचित्र ऐश्वर्यबाट एकाएक चर्चामा आएका कलाकार हुन् ।

उक्त चलचित्रमा उनी खल पात्रको भूमिकाबाट चर्चामा आएको भए पनि जयशम्भुमा भने उनी नायकको भूमिकामा देखिएका छन् । उनको नायकको भूमिकालाई दर्शकले कत्तिको रुचाउने हुन् त्यो भने कुर्नैपर्ने हुन्छ ।