Fri May 20 2022
खेलकुद

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

काठमाडौं । उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो ।

लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । अब लगको अन्तिम खेलमा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा जित हात पारे एपिएफ लिग च्याम्पियन बन्नेछ । एपिएफ र आर्मीको समान ९ अंक छ । गोल अन्तरमा आर्मी दोस्रो स्थानमा छ । एपिएफलाई उपाधि नजिक पु¥याउन अनिता केसी र सरु लिम्बुले गोल गरिन् ।

२३ औं मिनेटमा अनिता केसीको गोलबाट एपिएफले खेलमा अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल गर्दै टिमको जित सुनिश्चित गरे । ४७ औं मिनेटमा सरु लिम्बुले गोल गरेकी थिइन् । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ २–० ले सहजै विजयी हुन सफल भयो । यता पुलिसको भने लिगमा यो लगातार तेस्रो हार हो । पुलिसले अब मंगलबार काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच, त्रिभुवन आर्मी क्लब पनि जितलाई निरन्तरता दिँदै उपाधि नजिक पुगेको छ । आर्मीले आइतबार रौतहटलाई ३–१ ले हराउँदै लिग जित्ने सम्भावनलाई बलियो बनाएको छ ।

आर्मीले यसअघि नेपाल पुलिस क्लब र काठमाडौंलाई हराएको थियो । आर्मीलाई जित दिलाउन शर्मिला थापाले २ र दीपा राईले १ गोल गरिन् । शर्मिलाले नवौं र १२ औं मिनेटमा गोल गरिन् । दीपाले ४५ औं मिनेटमा गोल थपेकी थिइन् । रौतहटका लागि रश्मीकुमारी घिसिङले ६८ औं मिनेटमा गोल फर्काएकी थिइन् । तीन जितपछि आर्मीको ९ अंक पुगेको छ ।