Thu Oct 6 2022
खेलकुद

बास्केटबल टोली बंगलादेश जाँदै

काठमाडौं । बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ ।
खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा विनोद बुढाथोकी, सहायक प्रशिक्षकमा राजकुमार तामाङ, व्यवस्थापकमा रोहित डंगोल तथा अफिसियलमा लुम्बिनधी एकेडेमीका प्रबन्ध निर्देशक एवं प्रिन्सिपल रविनचन्द्र कोइराला र निर्देशक युवराज मैनाली रहेका छन् । टोलीलाई ईपी एजुकेसनल कन्सल्टेन्सीले पोशाक प्रायोजन गरेको छ । प्रतियोगिता अगष्ट २ देखि ५ तारिखसम्म हुनेछ ।
यसैबीच, प्रथम विश्व विश्वविद्यालय उसु च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मकाउ जाने भएको छ । मकाउ पोलिटेक्निक इन्स्टिच्यूट मल्टी स्पोट्र्स पेभिलियनमा अगष्ट २ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
तीनै खेलाडीले थाउलो स्पर्धामा प्रतिस्पर्धा गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गर्न लागेका अशोक बुढा मगरले पुरुष नान् छ्वान र नान् गुनमा भाग लिने छन् । महिलामा १२ औं दक्षिण एसियाली खेलकुद(साग) की रजत पदक विजेता सविता राईले ताइची छ्वान र ताइची छेन तथा ओसिन राईले जेन सु र चेन सुमा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।