Sat May 21 2022
खेलकुद

मापसे काण्डका ५ खेलाडीलाई कस्ताे कारबाही हाेला ?

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ । बन्द प्रशिक्षणमा रहेको फुटबलका विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पासँग स्पष्टीकरण माग गरेको हो ।

गत शुक्रबार राति डिस्को गएर मादक पदार्थ सेवन गरी हो–हल्ला गरेको भन्ने समाचार सार्वजनिक भएपछि एन्फाले खेलाडी, टोलीका प्रशिक्षक, होस्टल वार्डेन र सेक्युरिटी कम्पनीसँग पनि स्पष्टिकरण लिने निर्णय गरेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ र अन्य पदाधिकारीले ५ खेलाडीसँग मौखिक स्पष्टीकरण लिएपछि लिखित स्पष्टीकरण पनि लिने निर्णय लिएको छ । ५ खेलाडीलाई ३ दिन भित्र लिखित जवाफ बुझाउन भनेको छ ।

त्यस्तै एन्फाले टोलीका व्यवस्थापक बाबुकाजी बस्नेत, होस्टेल वार्डेन टक्कर थापालाई ३ दिन र सेक्युरिटी कम्पनी गुरुडलाई ७ दिन भित्र लिखित जवाफ पेश गर्न निर्देशन दिइएको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।

‘आज खेलाडीसँग मौखक स्पष्टीकरण सोधिएको छ,’ प्रवक्ता राईले भने,‘ थप प्रष्ट हुनका लागि ७२ घण्टाभित्र लिखित स्पष्टीकरण दिनुपर्ने हुन्छ । सोही लिखित स्पष्टीकरण पछि खेलाडीमाथि हुने कारवाहीका विषयमा छलफल हुनेछ ।’ एन्फाको सीसी टिभि फुटेजका आधारमा खेलाडीलाई स्पष्टीकरण सोधिएको प्रवक्ता राईले बताए ।