सरस्वती बस्नेत
काठमाडौंको पाशुपत क्षेत्रमा रहेको नेपाल कै पहिलो विद्युतीय शवदाह गृहमा मृतक आफन्तको शवदाह गराउनेको संख्या बढ्दै गएको छ ।
विद्युतीय प्रविधिबाट शबदाह गर्न व्यवहारीक, सामाजीक तथा आर्थिक हिसावले सहज हुने भएपछि विद्युतिय शवदाह गृहमा शवदाह गराउनेको संख्या बढेको हो । सर्वसाधारण पनि शवदाह गृहलाई बातावरण मैत्री साथै समय सापेक्ष र मानवीय संवेदनाको दृष्टिले समेत व्यवहारीक मान्न थालेका छन् ।
विद्युतिय शवदाह गृहमा १० वर्ष सम्मको बच्चाको शव दाह गर्दा २ हजार रुपँैया लाग्छ भने सो भन्दा बढी उमेरको शव दाह गर्दा ४ हजार रुपैंया शुल्क पशुपति क्षेत्र विकास कोषलाई बुझाउनुपर्छ । विद्युतीय प्रविधिबाट शबदाह गराउन चाहनेको संख्या बढेपनि माग र चाप अनुसार कोषले मेसिन थप्न सकेको छैन ।
हाल २ वटा मेशिन भएपनि कोषले १÷१ महिना आलोपालो गरी सञ्चालन गर्दै आएको छ । विद्युतीय प्रविधिबाट शवदाह गराउनेको चाप थपिएपछि कोषले नयाँ मेसिन जडानका लागि टेण्डर प्रक्रिया अघि बढाएको र ३ महिना भित्रै नयां मेशिन जडान हुने जनाएको छ ।
नेपालको एकमात्र विद्युतीय शवदाह गृह २०७२ माघ १० बाट सञ्चालनमा आएको हो । जहां हाल दैनिक करिब १९ वटा सम्म शवदाह हुने गरेको छ । सञ्चालन भएदेखी गत आर्थिक वर्षको अन्तसम्म ७ हजार ८ सय ३८ शबदाह गरिएको कोषले जनाएको छ ।
कोषले शबदाह गृह संगै २५ शव क्षमताको चिस्यान कक्ष पनि सञ्चालमा ल्याएको छ । आधुनिक शवदाह प्रणाली पर्यावरणीय स्वास्थ्यको हिसावले पनि उपयोगी भएकोले बढ्दो शहर क्षेत्रमा शवदाहको लागि मेसिनको आवश्यकता बढ्दो छ ।