Sun Dec 4 2022
अन्तर्राष्ट्रिय

भारतका पूर्व प्रधानमन्त्री बाजपेयी सिकिस्त

नयाँदिल्ली । भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको स्वास्थ्यअवस्था थप जटिल बन्दै गएकाे छ । उपचाररत रहेकाे अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्) ले बुधबार साँझ विज्ञप्ती जारी गर्दै स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको र उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको जनाएको छ ।

उनको उपचारमा एम्सका निर्देशक डा. रणदीप गुलेरिया नेतृत्वको टोली संलग्न छ। गुलेरिया तीन दशक बढी समय बाजपेयीको निजी चिकित्सक समेत रहिसकेका छन्। निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो।

सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए।  वाजपेयीको स्वास्थ्य नाजुक बनेसँगै उपराष्ट्रपति एम वै‌ंकया नायडु उनको स्वास्थ्य अवस्था बुझ्न बिहीबार बिहानै अस्पताल पुगेका छन्। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य मन्त्रीहरु पनि बुधबार साँझ नै अस्पताल पुगेका थिए।
दुई पटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्छन्।