काठमाडौ । भदौ पाँच गतेका लागि तोकिएको प्रतिनिधिसभा अन्तर्गतका समिति सभापतिको निर्वाचन भाद्र १७ गतेका लागि सरेको छ ।
प्रतिनिधीसभाको बैठकमा सभामुख कृष्णवहादुर महराले बिशेष कारणवस समिति सभापतिको निर्वाचन भाद्र १७ गते सारिएको भन्दै सोही अनुसारको कार्यतालिका सार्वजनिक गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो । भदौ ६ गते इस्लाम धर्मावलम्बीहरुको बकर इद परेकाले पाँच गते निर्वाचन राख्दा सांसदहरुलाई जिल्ला जान समस्या हुने भएकाले निर्वाचन सारिएको बुझिएको छ ।
बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ प्रस्तुत गर्नुभयो । त्यसअघि बैठकको शुन्य समयमा सांसद लक्ष्मी परियारले तराईका क्षेत्रमा सर्पदंशका घटना बढिरहेको र सर्वसाधारणको ज्यान गएको भन्दै सर्पदंश उपचार केन्द्रमा पर्याप्त उपकरणको व्यवस्था गर्न माग गर्नुभयो ।
त्यस्तै सांसद लालबहादुर थापाले साउन १५ देखि २५ गतेसम्म आएको बर्षाले बाजुराको बिभिन्न क्षेत्रको यातायात क्षेत्र अवरुद्ध भएको भन्दै तत्काल सडक खण्ड सुचारु गर्न माग गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते १ बजे बोलाईएको छ ।