Sun Dec 4 2022
फिचर

कानूनमन्त्रीले भने– कामु प्रधानन्यायाधीश जाेशी होइनन्

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नभएर ओमप्रकाश मिश्र भएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री ढकालले भने,‘संविधान र कानूनले चिनेको कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नै हो।

प्रधानन्यायाधीशमा अस्वीकृत व्यक्तिको नाममा कसैले प्रेस विज्ञप्ती जारी गर्दैमा उसलाई कामु प्रधानन्यायाधीश मान्न सकिँदैन् । हामीले त कानून र संविधानले चिनेको व्यक्तिलाई नै कामु मान्ने हो।’

उनले अब सर्वोच्च अदालतको प्रधानन्यायाधीश को बन्छ भन्ने कुरा संवैधानिक परिषदको बैठकबाट टुँगो लाग्ने पनि स्पष्ट पारे।

उनले भने,‘संवैधानिक परिषदको बैठक छिट्टै बस्छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि छलफलबाट हामी परिषदको बैठक टुँगो लगाउँछौं । परिषदको बैठकले प्रधानन्यायाधीशको लागि नाम सिफारिश गर्छ। अनि संसदीय सुनुवाई विशेष समितिबाट नाम अनुमोदन भयो भने प्रधानन्यायाधीश बन्ने बाटो खुल्ला हुन्छ।’