Fri May 27 2022
देश

महिला विभेदविरुद्धको प्रस्ताव संसदमा पेश हुँदै

काठमाडौं । महिलामाथि हुने सबैखाले विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा पेश हुने भएको छ। संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक कार्यसूचीमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ।

नेकपा सांसद विन्दा पाण्डेले दर्ता गराएको सो प्रस्ताव सोमबार दिउँसो एक बजे बस्ने संसदको बैठकमा पेश हुने भएको हो ।
‘महिलामा माथि हुने जघन्य अपराधबाट पीडित महिलालाई उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उक्त प्रस्तावमा उल्लेख छ। महिलामाथि हिंसाका श्रृंखला बढिरहेको बेला उक्त प्रस्तावलाई संसदले पनि प्राथमिकताको सूचीमा राखेको देखिएको छ।

‘हत्या, बलात्कार, बोक्सीको आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, दोइजोको निहुँमा हुने कुटपीटलगायका अपराधबाट पीडित महिलाको उपचार र क्षतिपूर्तिको व्यवस्था गरियोस्’ सो प्रस्तावमा उल्लेख छ। यसका साथै अन्धविश्वास, त्रूटिपूर्ण सामाजिक मूल्य मान्यता, प्रथा परम्पराका आधारमा हुने विभेदविरुद्ध तीनै तहका सरकारलगायत सरोकारवालाको सहभागितामा जनचेतना फैलाउन सरकारलाई निर्देशन दिन माग गरिएको छ।