Mon Nov 28 2022
मुख्य खबर

मुलुकी फौजदारी संहिता बिरुद्ध नउफ्रिन नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काम कारबाहीलाई विरोधको नजरबाट हेर्नेहरूले अहिले मन्त्रीमण्डल पुर्नगठनको भ्रम फिँजाइरहेको दाबि गर्नुभएको छ ।

आज काठमाडौमा जिल्ला समन्वय समिति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बद्नाम गर्न खोज्नेहरुले मन्त्री हटाइँदै छ भन्ने गलत हल्ला फिँजाएर जनतामा भ्रम श्रृजना गरिरहेको दावी गर्नुभयो ।

सबै मन्त्रीले राम्रो काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौंका बाटाहरु राम्रो देख्न अझै ६ महिना कुर्नु पर्ने बताउनुभयो । असोजसम्म मेलम्चीको पानी काठमाडौं आइसक्ने र पाइप सञ्जाल मर्मत सकिएपछि ६ महिना भित्र काठमाडौंका बाटाहरु चिल्ला हुने ओलीको दावी छ ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगाएत अस्थिरता ल्याउन चाहने शक्तिले आफु तथा गृह र अर्थमन्त्री माथि हमला गरिरहेकोमा आक्रोश पोख्नुभयो ।

भाद्र १ गतेबाट लागू भएको मुलुकी फौजदारी कार्यनीति संहिता गतवर्ष आफ्नो पार्टी सरकार बाहिर रहेको बेला लालमोहर लागेको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले आफैँले बनाएका कानुनविरुद्ध दल र नेताहरु उफ्रिएको टिप्पणी पनि गर्नुभयो ।

भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जिल्ला समन्वय समितिभुमिका विहिन देखिएको भन्दै संवैधानिक हैसियत र जिम्मेवारी पुरा गर्न आग्रह पनि गर्नुभयो ।