काठमाडौं–जनकपुर साईकल यात्रा सुरु, ८५ जना यात्री सहभागी

काठमाडौं–जनकपुर साईकल यात्रा सुरु, ८५ जना यात्री सहभागी
आइतवार, मंसिर २३, २०७५

काठमाडौ । सामाजिक–सांस्कृतिक सद्भावको आह्वान सहित काठमाडौं–जनकपुर साईकल यात्रा सुरु भएको छ ।

आईतवार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले साइकल यात्रीलाई राष्ट्रिय झण्डा र रुद्राक्षको माला लगाईदिएर यात्राको शुभारम्भ गर्नुभयो ।

८५ जना साईकल यात्री सहभागी रहेको सो साईकल यात्रा वीर पूर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ । जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर साईकल यात्रा आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यो साईकल यात्राले पर्यटकीय क्षेत्रको मात्रै नभएर मुलुकको राजनीतिक, आर्थिक तथा देशभक्तिको भाव जागृत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साईकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ ।