इपीएल अन्तर्गत चितवन ११ रनले पराजित, दोस्रो खेलमा भैरहवा ४ विकेटले विजयी

इपीएल अन्तर्गत चितवन ११ रनले पराजित, दोस्रो खेलमा भैरहवा ४ विकेटले विजयी
आइतवार, मंसिर २३, २०७५

काठमाडौ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आईतवार सम्पन्न खेलमा काइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै भैरहवाले सुखद सुरुवात गरेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले शतकीय इनिङस खेलेपछि पोखराले दिएको २ सय १६ रनको फराकिलो लक्ष्य भैरहवाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो हो ।

भैरहवाको जितमा रबीले अविजित १ सय २५ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो । त्यस्तै आजको पहिलो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले दिएको १ सय ४४ रनको लक्ष्य भेट्टाउन नसकेपछि चितवन पराजित भएको हो । १ सय ४४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको चितवन निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रनमा समेटिएपछि ललितपुर ११ रनले विजयी भएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४३ रन बनाएपछि चितवनले १ सय ४४ रनको लक्ष्य पाएको थियो ।