ए डिभिजन लिगः सातौं चरणका खेल सम्पन्न, मनाङलाई पछ्याउँदै थ्रीस्टार र संकटा

ए डिभिजन लिगः सातौं चरणका खेल सम्पन्न, मनाङलाई पछ्याउँदै थ्रीस्टार र संकटा
मङ्लबार, मंसिर २५, २०७५

काठमाडौं । काठमाडौंमा जारी ए डिभिजन लिग अन्तर्गत सोमबार भएका दुई खेलको समाप्तिसँगै सातौं चरणका खेल समापन भएका छन् । सातौं चरणका खेल सकिंदासम्म अंक तालिकामा मनाङ–मस्र्याङ्दी शीर्ष स्थानमा रहेको छ भने उसलाई थ्रीस्टारले पछ्याइरहेको छ ।

सातौं चरणको अन्तिम खेलमा मनाङ र आर्मीले जित हात पारे । लगको तेस्रो चरणदेखि लगातार अग्रतामा रहेको मनाङले सातौं चरणमा पनि जित दर्ता गर्दै पकड बलियो बनाएको छ । लिगका सम्पूर्ण सात खेलमा जित दर्ता गरेको मनाङको २१ अंक छ । दोस्रो स्थानमा रहेको रुस्लान थ्री स्टारको ७ खेलमा ६ जित र १ हारसहित १८ अंक छ । थ्री स्टारले तेस्रो चरणमा मनाङविरुद्ध भोगेको २–१ को हार नै अंक गुमाएको एक मात्र खेल हो ।

तेस्रो स्थानको संकटा पनि ७ खेलमा ६ जित र १ हारसहित १८ अंकमा छ । संकटालाई त्रिभुवन आर्मी क्लबले ५–१ ले हराएको थियो । चौथो स्थानमा लिगमा अझै हारको स्वाद नचाखेको आर्मी रहेको छ । आर्मीले पहिलो खेलमा न्यू रोड टिम (एनआरटी) विरुद्ध २–२ को बराबरी खेलेको थियो । त्यसपछि लगातार ४ जित दर्ता गरेको आर्मी छैटौं चरणमा फ्रेन्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लिगको पाँचौ स्थानमा नेपाल पुलिस क्लब रहेको छ । पुलिसले ७ खेलमा ३ जित, २ बराबरी र २ हारसहित ११ अंक जोडेको छ । शेर्पा पुलिसको जस्तै नतिजा हात पार्दै गोल अन्तरको आधारमा छैटौं स्थानमा छ । सातौं र आठौँ स्थानमा क्रमशस् भ्याली च्यासल युवा क्लब र नेपाल एपीएफ क्लब रहेका छन् । दुवै टोलीले ७ खेलमा ३ जित, १ बराबरी र ३ हार बेहोरेका छन् ।

नवौं स्थानमा २ जितसहित ६ अंक जोडेको सरस्वती क्लब रहेको छ । १ जित र २ बराबरीसहित ५ अंक जोडेको फ्रेन्ड्स क्लब दशौँ स्थानमा छ । जावलाखेल युवा क्लब र ब्रिगेड ब्वाइज क्लब समान ४ अंक बोकेर क्रमशस् ११ औं र १२ औं स्थानमा छन् । लिगमा अहिलेसम्म गोलको खाता खोल्न नसकेको मछिन्द्र क्लब पुछारबाट दोस्रो स्थानमा छ ।

मछिन्द्रले ३ बराबरी खेल्दै ३ अंक जोडेको छ । लिगको पहिलो खेलमा आर्मीविरुद्ध बराबरी खेलाडी अंकको खाता खोलेको एनआरटीले त्यसपछि कुनै अंक जोडेको छैन । पछिल्लो ६ खेलमा लगातार पराजय भोगेको एनआरटी १ अंक बोकेर पुछारमा रहेको छ ।