पाइलट रिजालद्वारा क्रिकेट सामाग्री उपहार

पाइलट रिजालद्वारा क्रिकेट सामाग्री उपहार
मङ्लबार, मंसिर २५, २०७५

काठमाडौं । नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन तथा समाजसेवी श्रवण रिजालले क्रिकेटका एक जना उदीयमान खेलाडी छात्रलाई क्रिकेट सिक्नको लागि क्रिकेट एकेडेमीमा भर्ना गरिदिनुको साथै क्रिकेट सामाग्री समेत उपहार दिएका छन् ।

पत्रकार एव्म स्काउट शिक्षक बलराम प्यासीको पहलमा रिजालले राजधानीको सिनामंगलस्थित शिक्षान्तर स्कूलमा ८ कक्षामा अध्ययनरत तीनकुने निवासी विद्यार्थी कपिल भण्डारीलाई क्रिकेट खेल्नको लागि आवश्यक पर्ने क्रिकेट ब्याट, हेल्मेड, लेग गार्डदेखि सम्पूर्ण सामाग्री उपलब्ध गराएका हुन् ।

क्रिकेट सामाग्री उपलव्ध गराउने मात्रै नभई उनले क्रिकेटमा रुची राख्ने विद्यार्थी कपिललाई पेप्सीकोला टाउन प्लानिंगस्थित नेक्सस क्रिकेट एकेडेमीमा क्रिकेट खेल सिक्नका लागि भर्ना समेत गरेका हुन् ।

आफू पनि क्रिकेटमा रुचि राख्ने भएको र पछिल्लो समयमा नेपालमा क्रिकेटको राम्रो विकास हुँदै आएको उल्लेख गर्दै वरिष्ठ पाइलट रिजालले क्रिकेटका उदीयमान खेलाडी छात्र कपिललाई आफूले सानो सहयोग मात्रै गरेको बताए । विद्यार्थी कपिलले विद्यालयमा आयोजना भएका क्रिकेट प्रतियेगिता जितेर एक दर्जन पदक पाइसकेका छन् ।

यसअघि पाइलट रिजालले मृगौला रोगीको उपचारको लागि आर्थिक सहयोग गर्नुका साथै समय समयमा विपन्न विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गर्दै आएका छन् । रिजाल नेपाल वायुसेवा निगमको एयर बस ए ३२० का वरिष्ठ पाइलट हुन् ।