लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा
बुधबार, मंसिर २६, २०७५

काठमाडौं । लिटिल एन्जस स्कुल (एलए) हात्तीवन र मोर्डन इन्डियन स्कुल चोभार २३औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सोमबार आयोजक सेन्ट जेभियर स्कुल र झापाको मोरान मेमोरियल स्कुलले अन्तिम चारको यात्रा तय गरेको थियो ।
गोदावारीस्थित जेभियरको मैदानमा मंगलबार भएको पहिलो क्वाटरफाइनलमा एलएले क्रेसेन्ट एकेडेमीलाई ६–२ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । एलएको जितमा प्रसुन तुलाधरले ह्याट्रिक पूरा गरे ।

आशुतोष लावतले २ तथा सोनाम गुरुङले एक गोल थपे । पराजित टिमका शिव थापामगर र निर्जल तामाङले १–१ गोल गरे । एलएका प्रसुन खेलको म्यान अफ दि म्याच घोषित भए । मंगलबारकै अर्काे क्वाटरफाइनलमा मोर्डन इन्डियन स्कुलले सेन्ट जेभियर स्कुल झापालाई ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

मोर्डनका तुसनमान सिंह, अमन रायमाझी र जेनिस दवाडीले गोल गर्दा एक गोल उपहार पाएको थियो । सेन्ट जेभियरका आशप भुजेले २ गोल गरेपनि टिमलाई जिताउन सकेन । सेन्ट जेभियरका रिवाई घिमिरे खेलको म्यान अफ दि म्याच घोषित भए ।

अब सेमिफाइनलमा आयोजक सेन्ट जेभियर गोदावारीले मोर्डन इन्डियन स्कुल तथा दोस्रो सेमिफाइनलमा मोरान मेमोरियल स्कुल झापा र एलएबीच खेल हुनेछ । खेल बिहिबार हुनेछ ।