अपराजित यात्राको खाेजीमा पारस, शरद र सोमपाल

अपराजित यात्राको खाेजीमा पारस, शरद र सोमपाल
बुधबार, मंसिर २६, २०७५

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल अन्तर्गत आज पनि २ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे हुने खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स भिड्ने छन् । दुवै टिम अपराजित रहेकाले आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ ।

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले उद्घाटन खेलमा ललितपुरलाई पराजित गरेको थियो भने मंगलबार भएको खेलमा पोखरामाथि सुपर ओभरमा ७ रनको रोमाञ्चक जित निकालेको थियो ।

शरद भेषावकरको नेतृत्वमा रहेको भैरहवाले पहिलो खेलमा पोखरा राइनोजले दिएको २१६ रनको लक्ष्य पुरा गरेको थियो भने चितवन टाईगर्स विरुद्धको १४४ रनको लक्ष्य रक्षा गरेको थियो । पारस र शरद नेपाली फ्रेन्चाइज लिगको उपाधिका लागि भिड्दै आएका पनि छन् ।

पोखरा प्रिमियर लिगमा पनि यी दुवै कप्तान उपाधिका लागि भिडेका थिए । यसैगरी भैरहवा र विराटनगर गत संस्करणको उपाधिका लागि भिड्दा विराटनगरले १ रनको जित निकाल्दै उपाधि जितेकाले आजको खेलमा भैरहवा विजयी भए गत संस्करणको बदला लिने छ ।

तर विराटनगर पनि पुरानै नतिजा आत्मसाथ गर्दै प्रतियोगिताको उपाधिका लागि वलियो दावेदारी प्रस्तुत गर्ने छ । यसैगरी आजै दिउँसो १ बजे काठमाडौं किंग्स र ललितपुर प्याट्रियोट्स भिड्ने छन् । सोमपाल कामीको नेतृत्वमा रहेको काठमाडौंले पहिलो खेलमा पृथु वास्कोटाको नेतृत्वमा रहेको चितवनलाई पराजित गरेको थियो ।

दोस्रो खेल खेल्न लागेको काठमाडौं र चौथो खेल खेल्न लागेको ललितपुरबीचको भिडन्त पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको ललितपुरले ३ मध्य २ खेलमा जित हात पारेको छ ।

जसले गर्दा आजको खेलमा पनि जित हात पार्दै सुपर फोरमा प्रवेशको सम्भावना बलियो बनाउने प्रयासमा हुँदा काठमाडौं पनि लागतार दोस्रो खेल जित्दै प्रतियोगितामा बलियो दावेदारीता दिने प्रयासमा हुने छ ।