ज्ञानेन्द्रलाई ट्वीस्टरको साथ

ज्ञानेन्द्रलाई ट्वीस्टरको साथ
शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री निर्माण कम्पनी ट्वीस्टरले दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ । नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्रलाई ट्वीस्टरले क्रिकेट सामाग्री र नगद गरी २ वर्षका लागि १६ लाख (वार्षिक ८ लाख ) रुपैयाँ बराबरको प्रायोजन गरेको हो ।

बिहीबार ट्वीस्टरका प्रतिनिधि केयुर देसाई र ज्ञानेन्द्रले प्रायोजन सम्झैता पत्रमा हस्ताक्षर गरेका छन् । ज्ञानेन्द्रले त्रिवि मैदानमा शनिबारबाट भएको एभरेस्ट प्रिमिएर लिग (इपीएल)मा ट्वीस्टरको ब्याट प्रयोग गर्न थाले पनि बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ट्वीस्टरको साथले आफूलाई नेपाली क्रिकेटमा थप प्रतिबद्धताका साथ लाग्न उर्जा प्राप्त भएको ज्ञानेन्द्रले बताएका छन् । खेलाडीको आर्थिक पक्ष बलियो भएमात्र मैदानमा प्रदर्शन निखारिने बताउँदे उनले अन्य खेलाडीलाई पनि यस्तो प्रायोजनले प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

यसअघि भारतीय यू–१९ र पहिलो श्रेणीका खेलाडीहरुलाई प्रायोजन गर्दै आएको ट्वीस्टरले पहिलो पटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गरेको हो । भारतीय क्रिकेट सामग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले २०१४ देखि ट्वीस्टर उत्पादन गर्न थालेको हो । नेपालमा ट्वीस्टरका सामग्री ज्ञानेन्द्रले सञ्चालन गरेको काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरमा उपलब्ध हुने जनाइएको छ ।