पहिलो जितको खोजीमा चितवन र पोखरा

पहिलो जितको खोजीमा चितवन र पोखरा
शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । चितवन टाइगर्सले विराटनगर वारियर्सको सामना गर्दैछ भने अर्को खेलमा पोखरा राइनोजले शुक्रबारै काठमाडौं किंग्सको सामना गर्नेछ । चितवन र पोखराले अहिलेसम्म कुनै पनि खेलमा जित हात पार्न सकेका छैनन् । त्यसैले शुक्रबारको खेलमा जित हात पार्दै अंक तालिकामा अंक चढाउने दाउमा देखिएका छन् । तर यी दुवै टोलीको प्लेअफ पुग्ने झिनो सम्भावना मात्रै छ ।

पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग पराजित भएको विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (ईपिएल) मा शुक्रबार अंकरहित चितवन टाइगर्सलाई सिकार बनाउँदै लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित कीर्तिपुर मैदानमा उत्रिनेछ । समूह चरणको शीर्ष दुईमा रहेर सिधै फाइनल खेल्ने लक्ष्य बनाएको विराटनगर पहिलो खेलमै पराजित भएपछि दबाबमा परेको थियो । तर साविक विजेता विराटनगरले पछिल्ला दुई खेलमा रोमाञ्चक नतिजा निकाल्न सफल भएको छ ।

पोखरा राइनोजविरुद्ध सुपर ओभरमा भाग्यमानी बनेको विराटनगरले ललितपुरमाथि ३ विकेटको विजय हासिल गरेको थियो । राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको विराटनगर तीन खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । विराटनगरले अब चितवनबाहेक काठमाडौं किंग्सविरुद्ध खेल्नेछ । चार खेलबाट ६ अंक निकालेको ललितपुर प्याट्रियोट्स शीर्ष स्थानमा रहँदा तीन खेलमा सतप्रतिशत नतिजा निकालेको भैरहवा दोस्रो स्थानमा छ ।

दुई खेल खेलेको काठमाडौं २ अंकका साथ चौथो स्थानमा छ । तीन खेलमा पराजय भोगेको चितवन पुछारमा छ । गत सिजन खराब नतिजा भोगेपछि यस सिजन आयरल्यान्डका ओपनर पाउल स्टर्लिङका साथै इङ्ल्यान्डका जोन सिम्पसन र जर्स स्कटलाई भित्र्याएको चितवन पहिलो जितको खोजीमा छ । पहिलो खेलमा भैरहवालाई १२ रनको नतिजा सुम्पिएको चितवन दोस्रो खेलमा काठमाडौं किंग्ससँग ६ विकेटले पराजित भएको थियो ।

गत सिजनको प्रदर्शन बिर्साउने लक्ष्य राखेको चितवन तेस्रो खेलमा पनि ललितपुरसँग ११ रनले पराजित भएपछि प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।  चितवनलाई अघिल्लो चरण पुग्नका लागि बाँकी दुवै खेल जितेरमात्र पुग्ने छैन । चितवनले अन्य टोलीको नतिजा पनि कुर्नुपर्ने हुन्छ । चितवनले अन्तिम खेल पोखरा राइनोजविरुद्ध खेल्नेछ ।

स्कटल्यान्डका काइल कोइट्जरलाई कप्तानको जिम्मेवारी सुम्पिएको पोखरा राइनोजले शुक्रबारै काठमाडौं किंग्सविरुद्ध खेल्नेछ । पोखरा पनि चितवन जस्तै काठमाडौंलाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यमा छ । गत वर्ष दुई खेल जित्दै प्लेअफमा स्थान बनाएको पोखरा ललितपुरसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । तर जारी सिजन लगातार तीन खेलमा पराजित भएपछि पोखराको प्लेअफ खेल्ने सम्भावना कमजोर बनेको छ ।

गत वर्ष श्रीलंकाका फारवेज माहरुफको कप्तानीमा खेलेको काठमाडौंले एक खेलमात्र जितेर प्रतियोगिताको अन्त्य गरेको थियो । यसपटक सोमपाल कामीलाई कप्तानको जिम्मेवारी दिएको काठमाडौंले आयरल्यान्डका केभिन ओ‘ब्रायन, युएईका रोहन मुस्तफा तथा भारतीय खेलाडी सुब्रमन्यम अनन्द र प्रदीप साहुलाई अनुबन्ध गरेको छ । तर विदेशी खेलाडीले सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन् । तथापी काठमाडौं शुक्रबार पोखरालाई हराउँदै प्लेअफ यात्रा बलियो बनाउने लक्ष्यमा हुनेछ ।