ए डिभिजन लिगः संकटाको मनाङसँग अंक बराबरी

ए डिभिजन लिगः संकटाको मनाङसँग अंक बराबरी
शुक्रबार, मंसिर २८, २०७५

काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबारबाट आठौं चरणका खेल शुरु भए । विहीबार तीन वटा खेल भएका थिए । जसमा संकटा क्लवले सातौं जित निकालेको छ । संकटाले हिमालयन शेर्पालाई दुई शुन्यले हरायो । जसकाकारण उसले लिगको शिर्ष स्थानमा रहेको मनाङसँग अंक बराबरी गर्न सफल भयो ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलमा संकटाले १५ मिनेट भित्रमा नै दुई गोल गर्यो । सुरुवात देखि नै आक्रमणमा उत्रिएको संकटाले खेलको ११ औं मिनेटमा पहिलो गोल गर्यो । उसका लागि सेड्रिक अवाले गोल गरे । त्यसको तीन मिनेटपछि नै शेर्पाको डिफेन्सको कमजोरीको फाइदा उठाउदै संकटाले अर्को गोल थप्यो ।

अमित तामाङको प्रहार शेर्पाका डिफेन्सलाईनले क्लियर गर्न ढिलो गर्दा दिपेश आलेमगरले रिबाउन्डमा गोल गरे । त्यसपछि पहिलो हाफमा दुबै टिमबाट थप गोल भएन । पहिलो हाफमा दुई गोलको अग्रता लिएको संकटाले दोस्रो हाफमा पनि केहि अवसर पाएपनि सफल भएन ।

जितसँगै संकटाले ८ खेलबाट २१ अंक बनाएको छ भने शिर्ष स्थानको मनाङको पनि २१ अंक छ । तर उसले ७ खेल खेलेको छ । यो जितले संकटा फेरी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा नै विभागिए टिम सशस्त्र प्रहरीको एपीएफ क्लव जाउलाखेलसँग १–० ले स्तब्ध बन्यो ।

हलचोक मैदानमा एपीएफ क्लवले खेलको तेस्रो मिनेटमा नै एपीएफले पाएको मौकालाई सदुपयोग गर्न सकेन । सातौं मिनेटमा उसले फेरी अर्को अवसर पाएको थियो । तर त्योपनि सफल भएन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४९ औं मिनेटमा विदेशी खेलाडी अफिज लावलले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए ।

त्यसपछि एपीएफ खेलमा फर्कन धेरै प्रयास गरेपनि सफल भएन र प्रतियोगितामा चौथो हार ब्यहोर्न बाध्य भयो । यता जाउलाखेलले दोस्रो जित निकाल्यो । जितपछि जाउलाखेलको ८ खेलबाट ७ अंक भएको छ ।

यसैबीच विहीबार नै भएको अर्को खेलमा सरस्वती क्लवले तेस्रो जित निकालेको छ । सरस्वतीले पुछारमा रहेको एनआरटी विरुद्ध एक शुन्यको जित निकाल्यो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा सरस्वती एनआरटी माथि हावी भएपछि गोल गर्न भने निकै समय लगाएको थियो ।

जितसँगै सरस्वतीले आठ खेलबाट नौ अंक बनाएको छ । उसले अहिलेसम्म आठ खेलमा तीन जित र पाँच हार ब्यहोरेको छ । यता एनआरटीको यो सातौं हार हो । उसको अंक तालिकामा अहिलेसम्म मात्र एक अंक छ ।