’ए’ डिभिजन लिग: च्यासल युथ क्लबको चौथो जित,ब्रिगेड ब्वाईज २–० ले पराजित

’ए’ डिभिजन लिग: च्यासल युथ क्लबको चौथो जित,ब्रिगेड ब्वाईज २–० ले पराजित
शनिबार, मंसिर २९, २०७५

काठमाडौ । च्यासल युथ क्लबले पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा चौथो जित निकालेको छ ।

शनिवार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २–० ले पराजित गर्दै च्यासलले चौथो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन सन्त बहादुर गुरुङ र संजोक राईले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै च्यासलले जित निकालेको हो । खेलको ६२ औं मिनेटमा सन्त बहादुरले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा संजोकले गोल गर्दै च्यासललाई २–० को जित दिलाए ।

खेलमा च्यासलका संजोक राई म्यान अफ दि म्याच चुनिए । जितसंगै च्यासलले ८ खेलबाट १३ अंक जोडेको छ । र, च्यासल लिगको पाँचौ स्थानमा उक्लिएको छ । ब्रिगेड ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।