क्रिकेट करियरमा शक्तिको १८ वर्षे यात्रा…

क्रिकेट करियरमा शक्तिको १८ वर्षे यात्रा…
आइतवार, पुस १, २०७५

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान बलर खेलाडी शक्ति गौचनले एभरेष्ट प्रिमियर लिगबाट आफ्नो खेलाडी करियर अन्त्य गरेका छन् । उनको करियरको अन्तिम प्रतियोगिता सुखद नभएपनि शक्तिले पूर्व घोषणा गरेअनुसार नै इपीएललाई आफ्नो करियरको अन्तिम प्रतियोगिता बनाए ।

इपीएलमा पोखरा राइनोज लिग चरणबाट नै बाहिरिएपछि उनको अन्तिम प्रतियोगिता जित्ने धोको पूरा हुन सकेन । करिव १८ बर्षको क्रिकेट यात्रामा एउटा सशक्त अनि मेहेनती खेलाडी क्रिकेटबाट टाढा हुँदा पक्कै पनि नेपाली क्रिकेटका लागि दुःखको कुरा हो । तर पनि शक्तिले नेपाली क्रिकेटलाइ जति पनि योगदान त्यो अतुलनीय छ ।

नेदरल्याण्डस्विरुद्ध भएको पहिलो एकदिवसीय श्रृखंला करियरको अन्तिम अन्तराष्ट्रिय प्रतियोगिता बनाएका शक्तिले नेपालमा नै कुनै अन्तराष्ट्रिय खेल होस् र राम्रोसँग बिदाइ लिउँ भन्ने योजना  थिए । तर नेपाल क्रिकेट निलम्बन अनि उनको विदाईलाई भब्य बनाउनका लागि सोच्ने ब्यक्ति नहुँदा उनले इपीएललाई नै करियरको अन्तिम प्रतियोगिता बनाए ।

सन् २००२ देखि अन्तराष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन् । टी–२० बरियतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तराष्ट्रिय क्रिकेटमा सतक पनि प्रहार गरेका छन् । विश्वकप छनोटमा इटाली विरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेश विरुद्धको एशिया कपबाट शुरुवात गरेका थिए । सन् २००२ मा उनले न्युजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । सोहि वर्ष सिंगापुरमा भएको एसीसी ट्रफिमा उनले राष्ट्रिय टिममा डेब्यु गरे ।

नेपाल डिभिजन फाइभ देखि टी–२० विश्वकप खेल्दा र एकदिवशीय मान्यता पाउँदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । कोलकातामा बुवासँग बस्दा क्रिकेट सिकेका शक्तिको क्रिकेट करियरमा कहिलेपनि ओरालो लागेन । बढ्दो उमेर र फिटनेसका कारण शक्तिले क्रिकेट करियरलाई वाईवाई भनेका छन् । तर पनि उनी क्रिकेटमा सधै रहिरहने प्रण पनि गरेका छन् ।