एनआरटी र फ्रेण्डस् बढी दबाबमा

एनआरटी र फ्रेण्डस् बढी दबाबमा
सोमवार, पुस २, २०७५

ए डिभिजन लिगः आज तीन खेलका ६ टोली मैदानमा

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आजबाट नवौं चरणका खेल शुरु हुँदैछन् । आज तीन खेलका ६ टोली मैदानमा उत्रिनेछन् । पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले हिमालयन शेर्पा क्लबको सामना गर्दैछ । नवौं खेलसम्म आइपुग्दा १ अंकमात्र जोडेको एनआरटीलाई नवौं खेलमा पनि जित निकाल्न सहज भने हुने छैन । तुलनात्मक रुपमा बलियो मानिएको हिमालय शेर्पा क्लब पनि सुखद नतिजाका लागि संघर्षरत रहेकाले आज जितको लक्ष्यसहित मैदान प्रवेश गर्नेछ ।

९ खेलमा ११ अंकसहित सातौं स्थानमा रहेको हिमालयन शेर्पा र पुछारको एनआरटीबीचको खेल बिहान ११ बजे सातोबाटोस्थित एन्फा कम्लेक्समा सुरु हुनेछ । जहाँ दुवै टोली जितको लक्ष्यमा हुनेछन् । तर अंकको बढि आवस्यकता एनआरटीलाई हुनेछ । एन्फाले यो वर्षका लागि लिगमा रेलिगेसनको प्रावधान हटाएका कारण तत्काल बी डिभिजनमा घटुवा हुनुपर्ने खतरा कुनै टोलीलाई छैन । तर यसपाली पुछारका दुई स्थानमा सिमित हुनेले अर्को सिजनको लिग सुरु हुनुपूर्व नै क्रमषः २ र १ अंकको ऋण बोक्नुपर्ने भएकाले एनआरटी स्वभाविक रुपमा बढि दबाबमा छ ।

लिगको पहिलो खेलमा त्रिभुवन आर्मीलाई २–२ को बराबरीमा रोक्नुयता एनआरटीले सुखद नतिजा निकाल्न सकेको छैन् । पछिल्लो खेलमा संकटासँग पराजय भोगेको हिमालयन शेर्पाले तुलनात्मक रुपमा कमजोर आँकिएका मछिन्द्रलाई २–० को नतिजामा हराउँदा जावलाखेलमाथि २–१ तथा सरस्वतीमाथि १–० को जित निकालेको छ । नेपाल पुलिस क्लबसँग १–१ तथा एपिएफसँग गोलरहित बराबरीको नतिजा निकालेको हिमालयन शेर्पाले आर्मी र च्यासलसँग २–१ को समान अन्तरमा हार भोगेको थियो ।

आज दिउसो साढे २ बजे एन्फा कम्लेक्समा सिएमजी संकटा र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ । सुखद नतिजाको शृंखलालाई निरन्तरता दिइरहेको संकटााले जारी लिगमा खेलेका आठ खेलमध्ये त्रिभुवन आर्मीवाहेक बाँकी सबै खेलमा जित हासिल गरेको छ । आर्मीसँग टोली पराजित भएको थियो । ठिक विपरित फ्रेन्ड्सले खेलेका आठमध्ये एक खेलमामात्र जित निकाल्न सकेको छ । संकटा शीर्ष स्थानसँग दुरी कम गर्ने लक्ष्यमा रहँदा फ्रेन्ड्स दोस्रो जितको खोजीमा छ । मछिन्द्रंमाथि ३–१ को जित निकालेको फ्रेन्ड्सले त्रिभुवन आर्मीसँग गोलरहित र जावलाखेलसँग ३–३ को बराबरी खेल्नुवाहेक अन्य खेलबाट अंक जोड्न सकेको छैन । सरस्वती, जावलाखेल, मछिन्द्र, च्यासल, नेपाल पुलिस, एनआरटी र हिमालयन शेर्पालाई पराजित गरेको संकटाले बलिया मानिएका टोलीसँग प्रतिस्पर्धा गर्न बाँकी छ ।

लिग अन्तर्गत आज दिउसो साढे दुई बजे हल्चोकस्थित सशस्त्रको खेल मैदानमा जावलाखेल युवा क्लब सरस्वतीविरुद्ध मैदान उत्रिँदैछ । अपेक्षित नतिजाबाट गुज्रिएका दुवै टोली स्पष्ट ३ अंकको खोजीमा छन् । ३ खेलमा जित निकालेको सरस्वती जावलाखेलभन्दा दुई अंकले अघि छ । यि दुवै टोली लिग तालिकाको नवौं र दशौं स्थानमा छन् ।

आठौं चरणको खेल सकिँदासम्म मनाङ ८ वटै खेल जित्दै शीर्ष स्थानमा छ भने उसलाई दोस्रो स्थामा रहेको थ्रीस्टारले पछ्याइरहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो । २१ अंकसहित थ्री स्टार दोस्रो स्थानमा उक्लिदा समान अंकको सिमएमजी क्लब संकटा तेस्रो स्थानमा छ ।