मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…

मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
मङ्लबार, पुस ३, २०७५

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘समृद्ध नेपाल सुखि नेपाली’ नारालाई सार्थक बनाउन देशमा उपलब्ध साधन–स्रोतको समुचित प्रयोग गर्नुपर्नेमा जोड दिनुएको छ ।

सफा सुनौलो नेपालको आयोजनामा काठमाडौंमा आयोजित सिलाई, कटाई तथा बुनाई तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले उपलब्ध साधान स्रोतको भरपूर प्रयोग गर्नसके आर्थिक उपार्जनका साथै सवै नेपाली आत्मनिर्भर बन्नसक्ने बताउनुभयो ।

महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै र यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने समेत बताउनुभयो । कार्यक्रममा उहाँले रोजगारीको सृर्जना गर्नु वर्तमान सरकारको मुख्य कार्य भएको बताउँदै कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक विकासलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

चीनले श्रम र पसिनाले आर्थिक वृद्धिदर उच्च बनाएको बताउँदै महिलालाई आत्मानिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै चिनिया राजदुतावासका कन्सुलर ज्याङ् प्याङ्ले महिलाले चाहेमा देश बदल्न कुनै समय नलाग्ने तर उनीहरुका लागि अवसर भने सिर्जना गरिनुपर्ने बताउनुभयो । उहाँले तालिमले महिलालाई आर्थिक रुपले सवल भई अघि बढ्न सहयोग पुगेको समेत बताउनुभयो ।

कन्सुलर प्याङ्ले नेपाली महिलाहरुलाई जनस्तरबाटै सवल बनाउन चीन सरकार लागि परेको धारणा प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनमा प्राविधिक तथा विभिन्न प्रकारका तालिमहरुको आयोजना बढाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा चीन सरकारको सहयोगमा संसथाले आयोजना गरेको १ महिने तालिममा सहभागी ५६ जना महिलालाई प्रमाणपत्र प्रदान गरिएकोे थियो । साथै सो तालिममा सहभागीहरूलाई आत्मनिर्भर होस् भन्ने उद्देश्ले सबैलाई सिलाई मेसिन र उनको धागो पनि प्रदान गरिएको थियो ।