क्यान्सर जितेकी सपनाको संघर्षको कथा, भन्छिन्– समयमै उपचार गरे क्यान्सर केही होइन

क्यान्सर जितेकी सपनाको संघर्षको कथा, भन्छिन्– समयमै उपचार गरे क्यान्सर केही होइन
बिहिबार, पुस ५, २०७५

कर्णराज पाण्डे

‘क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं भने उपचार सम्भव छ ।’ भन्ने सन्देश दिन यतिखेर ललितपुरको पुल्चोकस्थित मोक्ष रेष्टुरेण्टमा क्यान्सरसंगको लडाँई जितेका २२ महिला र ५ पुरुषहरु  “¥याम्प शो”को तयारीमा  छन् ।

उनीहरुको अनुहारमा गजबको चमक देखिन्छ । साँच्चै लडाँई जितेर आएको वीर योद्धा जस्तो । उनीहरुको हाउभाउ, स्वस्थ र जोशिलो शरीर, दृढ आत्मविश्वास, उज्यालो अनुहार देख्दा कसैले पनि उनीहरुलाई यसअघि क्यान्सर रोग लागेको थियो भनेर विश्वासै गर्न सक्दैन ।

यही पुस २७ गते अर्थात ११ जनवरीमा नेपालमै पहिलोपल्ट आयोजना हुन लागेको सन्देशमूलक ‘सुदिप्त क्यान्सर सर्भाइभर ¥याम्प शो’ कार्यक्रमको लागि उनीहरु कोरियोग्राफर डली गुरुंङसँग क्याटवाकमा कसरी उत्रिने भनेर प्रशिक्षण लिइरहेका छन् ।

त्यसो त गुरुङ पनि क्यान्सरलाई जितेकी एक दृढ, साहसी र सफल व्यवसायी मात्रै नभई नेपालकै पहिलो मोडेल पनि हुन् ।

समाजमा क्यान्सर मात्रै ठुलो रोग हो भन्ने भ्रमका कारण आफूले भोगेकाे  पीडा, तनाव र आर्थिक समस्याको अनुभव सुनाउँदै उनीहरू भन्छन्, ‘अबका दिनमा यस्तो गलत धारणा र भ्रमका कारण क्यान्सर लागेका अरु विरामीहरुले तनाव लिन नपरोस भन्ने हाम्रो प्रयास हो ।’

सपनाको संघर्षको कथा 

क्यान्सर जितेका त्यहाँ सहभागीमध्ये सपना रानामगरको संघर्षको कथा निकै दुखदायी छ । पीडामा पिल्सिए पनि साहसको सपना पाल्दै संघर्ष गरिरहेकी सपनाको कथा कुनै सपना भन्दा कम छैन । क्यान्सर जस्तो डरलाग्दो रोगबाट मुक्ति पाउँदाको मुस्कान मुहारमा देखिए पनि अन्तरआत्मामा नाबालक छोरो गुमाउँदाको पीडा दबिएकै छ ।

माइती घर धरान भएकी सपनाको घर सिन्धुली हो । उनी अहिले काठमाडौंमा ब्यूटीपार्लर खोलेर आफूलाई व्यस्त बनाउँदै पीडा भुल्ने कोसिशमा छिन् ।

¥याम्पमा उत्रिने जाँगरका साथ आफूजस्तै साथीहरुसँग प्रशिक्षणमा जुटेकी सपनाले एक भेटमा आफ्नो जीवन संघर्षका कथा यसरी सुनाइन्– ‘छोराको टाउकोबाट शुरु भएको सानो गिर्खा (क्यान्सर रोगको एउटा प्रारम्भिक लक्षण) बढ्दै कुमसम्म पुग्यो, उपचारका लागि कुनै कसर बाँकी राखिनँ । नेपालमा क्यान्सरको उपचारका लागि उपयुक्त अस्पताल नपाउँदा एक्लै दिल्ली पुगेर पनि सक्दो कोशिस गरेँ । दैवको लिला जीवन बचाउन सकिनँ ।’

उनले थपिन– ‘चार वर्षको उमेरमा देखिएको क्यान्सरसँग झण्डै तीन वर्षसम्म लड्यो छोराले । सायद समयमै उपचार नपाउँदा उस्ले जित्न सकेन क्यान्सरलाई ।’

छोरो गुमाउँदाको पीडा विस्तारै बिर्सिदै गर्दा पुनः त्यही रोग देखियो उनीमाथि । फरक थियो त केबल छोरालाई बोनम्यारो र उनलाई स्तन क्यान्सर । आफूलाई क्यान्सर भएको विषयमा शुरुमा उनी अनभिज्ञ थिइन । क्यान्सरको गिर्खा पलाउँदै गरेको समेत थाहा थिएन उनलाई ।

उनी सम्झिन्छिन्– ‘एक दिन साथीको पार्टीमा जान तयारी हुँदै गर्दा कपडा लगाउने बेला थाहा भयो त्यो गिर्खाबारे । छाम्दा गिर्खा लाग्थ्यो, तर दुख्दैनथ्यो । सामान्य होला, ठिक हुन्छ भन्दै पार्टीमा गएँ । मनमा अनेक तर्कहरु उब्जिए ।

कत्तिखेर चेकजाँच गर्ने भन्दै अर्को दिनको प्रतिक्षामा बसेँ । भोलिपल्ट ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल पुगेँ– चेकजाँचका लागि । चेकजाँच पश्चात जे नसोचेको रिपोर्ट त्यही आयो– लक्षण क्यान्सरकै थियो ।’

त्यो बेला उनको रिपोर्ट हेर्दा क्यान्सरको पहिलो स्टज देखिएको थियो उनीमा । झन पीरको भारी थपियो, अस्पतालको निगरानीमा बस्नुपर्ने उनी रोग चाडो निको पार्ने मनसाय पालेर आयुर्वेदतर्फ धाइन् ।

उनी आयुर्वेद औषधालय जानुको अर्को कारण थियो–उनलाई गलत सुझाव र सल्लाह दिने एक साथी । ती साथीले उनको मानसपटलमा के गलत धारणा भरिदिइन् भने स्तन काटेर फ्याकेको मान्छे धेरै बाँच्दैनन् । आयुर्वेदमा जाउ ठिक हुन्छ ।

मृत्युसँग नडराउने सायदै नहोलान् । उनको मनमा पनि यस्तै कुरा खेलेपछि सोही सल्लाह बमोजिम उनी नयाँ बसपार्कस्थित एक आर्युवेद औषधालयमा पुगिन् । क्यान्सर अस्पतालबाट आएका फोन समेत रिसिभ गरिनन् । आयुर्वेदिक औषधिमा पैसा खर्च गरिन् झण्डै तीन–चार लाख ।

रोग निको हुनुको सट्टा झन बढ्दै गयो । पार नलाग्ने देखिपछि उनी पुनः उही पहिलेकै अस्पताल पुगिन– नेसनल क्यान्सर अस्पताल । दोस्रो पटक अस्पताल पुग्दा क्यान्सर दोस्रो स्टेजमा पुगिसेकेको परीक्षण रिपोर्टले देखायो । छाँगाबाट खसेजस्तै भयो । गलत सुझावका कारण रोजेको बाटोप्रति आत्म ग्लानी भयो ।

पहिलो पटकदेखि नै क्यान्सर अस्पतालको निगरानीमा बसेको भए सायद गिर्खा मात्र काटे हुन्थ्यो, तर अंग नै गुमाउनुपर्दैनथ्यो होला । उपचारमा संलग्न डाक्टरले पनि यस्तै भनेपछि त्यसपछि उनी  प्रत्यक्ष अस्पतालको निगरानीमा तीन वर्षसम्म उपचार गरिन् ।

यो अवधिमा उनले चार पटकसम्म केमो थेरापी गरिन् । हिम्मत हारेकी छैनन् । साथमा रहेकी छोरीको साहारामा सपना बुनिरहेकी छिन् । उनी भन्छिन्– ‘क्यान्सरलाई जित्न सकिन्छ । साहस मात्र होइन समयमै उपचार गर्नुपर्छ ।’