इपीएलको उपाधि ललितपुरले जित्यो

इपीएलको उपाधि ललितपुरले जित्यो
शनिबार, पुस ७, २०७५

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै ललितपुरले उपाधि जितेको हो ।

अघिल्लो संस्करणमा भैरहवा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा लगातार दोस्रो संस्करणमा फाइनलमा पुगेर उपाधि होडबाट बाहिरिएको हो ।

१५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । भैरहवाका ओपनर प्रदीप ऐरीले सर्वाधिक ३४ रन जोडे । त्यस्तै प्रतियोगिताका सर्वाधिक रनकर्ता रवि इन्दर सिंहले २९ रन बनाए । रायन टेन डोस्क्याथे र कप्तान शरद भेषावकरले समान १४ रन बनाउँदा कुशल मल्लले १६ र आरिफ शेखले १२ रन बनाए ।

बलिङमा ललितनारायण राजवंशीले ३ विकेट लिए । पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । उत्कृष्ट सुरुआत गरे पनि ललितपुरले इनिङको अन्त्यतिर एकपछि अर्को विकेट गुमायो ।

ललितपुरका ओपनर जयकिसन कोल्सावालाले ५२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५७ रन बनाए । उनले गौरव तोमरसँग मिलेर पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । तोमरले २३ रन बनाए ।

सन्दीप जोराले ११ बलमा २४ रन, कप्तान ज्ञानेन्द्र मल्लले १० र कुशल भुर्तेलले ११ रन बनाए । बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । रायन टेन डोस्क्याथे र मोहम्मद नाविदले २/२ विकेट लिए ।