मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर

मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर
आइतवार, पुस ८, २०७५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौं चरणको खेल सकिँदै छ । जस अन्तर्गत आज २ वटा खेल हुँदैछन् । आजका दुवै खेल एन्फा मैदान ललितपुरमा हुने छ ।

आज विहान ११ बजे हुने पहिलो खेलमा दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मी आमने सामने हुने छन् । जारी प्रतियोगितामा आर्मी १८ अंक सहित चौथो स्थानमा रहँदा १३ अंक जोडेको एपीएफ आठौं स्थानमा छ ।

आजको खेलमा आर्मी विजयी भए तेस्रो स्थानको थ्रीस्टारसँगको अंकदूरी १ मा झाने छ भने एपीएफ विजयी भए आर्मीभन्दा २ अंक कम हुँदै पाचौं स्थानमा पुग्ने छ ।

आजै हुने दोस्रो खेलमा लिग लिडर सिंग्नेचर मनाङ मस्र्याङ्दी र विभागीय क्लब नेपाल पुलिस आमने सामने हुने छन् । शीर्ष स्थानमा रहेको मनाङ नवौं चरणसम्म अपराजित रहँदै २७ अंक जोडेको छ ।

पुलिस १५ अंक जोड्दै पाँचौ स्थानमा छ । आजको खेलमा मनाङ विजयी भए दोस्रो स्थानको संकटासँग ५ अंकको अग्रता बनाउने छ । पुलिस विजयी हुँदा १८ अंक पुर्याउने छ ।