‘सानो पशुपति नाथको रुपमा समेत पुजिने दुप्चेश्वर महादेव मेला सम्पन्न

‘सानो पशुपति नाथको रुपमा समेत पुजिने दुप्चेश्वर महादेव मेला सम्पन्न
आइतवार, पुस ८, २०७५

रामहरि न्यौपाने/नुवाकोट । धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको रौनक पूर्णिमाको रात विशेष पूजाआरधना गरी समापन भएको छ । शुक्रबार साँझदेखि सुरु भएको मेला पूर्णिमाको दिन अर्थात शनिबार रातभरको जाग्रामपछि समापन भएको हो । दुप्चेश्वर महादेवको मन्दिरमा पूजा गरी जल चढाउनाले भक्तीभाव र मनोकाक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

राउतवेशीका स्थानीयबासी बासु तामाङको गाई तादी नदी किनारको भिरमा पुगेर बच्चा जन्माई दूध चढाएर बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेवको नाममा दुईसय बर्षदेखि पुज्दै आएका छन् । ‘जे माग्यो त्यही पूरा हुने’ भगवानको रुपमा पुजिने दुप्चेश्वर महादेवले सन्तान मध्ये पनि पुत्र नै लाभ गराउने, बोली नफुटेका बालबालिका बोल्न सक्ने विश्वास गरिएको छ ।

समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवनबाट छट्पटिनुभएका भगवान शिव काठमाडौको पशुपतिनाथ हुँदै नुवाकोटको दुप्चेश्वर मन्दिरमा बास बसेर रसुवाको गोसाईकुण्ड पुगेको किम्वदन्ती पाइन्छ । यसैकारण दुप्चेश्वरलाई सानो पशुपतिनाथको रुपमा समेत पुज्ने गरिएको छ ।

धान्य पूर्णिमा, फागुपूर्णिमा, तिज, दशै एवम् तिहार लगायतका पर्वमा धुमधामको साथ पुजिने दुप्चेश्वर महादेव हिन्दु र बौद्ध धर्मालम्वीको महिमा र आस्थाको साझा शीरको रुपमा समेत परिचित छ ।