उत्कृष्ट खेलाडीलाई जनही १ लाख

उत्कृष्ट खेलाडीलाई जनही १ लाख
सोमवार, पुस ९, २०७५

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ ।

मंगलबजार स्थित ललितपुर महानगरपालिकाको संग्रहालयमा हुने कार्यक्रममा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनता बैंकले नगद पुरस्कार उपलब्ध गराउने छ । बैंकका तर्फबाट सहायक सीईओ अजय मिश्र र खेलाडी संघका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले आगामी पाँच वर्षसम्म खेलाडी संघलाई सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि २ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

खेलाडी संघका अध्यक्ष श्रेष्ठले बैंकको यो सहकार्यबाट खेलाडीहरुलाई विशेष प्रोत्साहन मिलेको बताए । ‘अन्तर्राष्ट्रिय जगतमा देशको नाम उँचो राख्न सधै रगत पसिना बगाउने खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यमा संघले लामो समयदेखि वर्ष खेलाडी सम्मान कार्यक्रम आयोजना गर्दै आएको छ । यसपालीदेखि थप गरिएको सर्वोत्कृष्ट खेलाडी पुरस्कारका लागि जनता बैंकको साथ पाउँदा हामी उत्साहित बनेका छौं,’ श्रेष्ठले बताए । सम्मानमा अघिल्लो बर्ष उत्कृष्ट प्रदर्शन गरेका खेलहरूलाइ समावेश गराइएको छ ।