एनएनआइपीए स्पोर्टस् अवार्ड आज, को बन्ला उत्कृष्ट खेलाडी ?

एनएनआइपीए स्पोर्टस् अवार्ड आज, को बन्ला उत्कृष्ट खेलाडी ?
शुक्रबार, पुस १३, २०७५

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा शुक्रबार हुने एनएनआइपीए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको छ ।

ललितपुर नगरपालिकास्थित मंगलबजारको संग्रहालयमा हुने सम्मान कार्यक्रममा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्टमध्येबाट एक महिला र एक पुरुष सर्बोत्कृष्ट खेलाडी, एक पाका खेलाडीलाई आदर्श खेल व्यक्तित्व तथा एनएनआइपीए खेलकुद पत्रकारिता पुरस्कार गरी विभिन्न विधामा खेलकर्मीलाई सम्मानित गरिनेछ ।

सबै खेलका उत्कृष्ट खेलाडीको नामावली सम्बन्धित खेलको राष्ट्रिय संघबाट प्राप्त भइसकेको छ भने सर्बोत्कृष्ट दुई खेलाडीका साथै आदर्श खेलाडी र एनएनआइपीए खेलकुद पत्रकारिता पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको पनि चयन भइसकेको छ । सम्मानित हुने सबै व्यक्तित्वको शुक्रबारकै कार्यक्रममा घोषणा हुनेछ ।

सर्बोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने आदर्श खेल व्यक्तित्व र एनएनआइपीए खेलकुद पत्रकारिता पुरस्कार पाउनेले जनही २५ हजार तथा सबै उत्कृष्ट २९ खेलाडीहरुले सम्वधित खेल संघले ५ हजार र खेलाडी संघले ५ हजार गरि जनही १० हजार रुपैयाँ पाउनेछन् ।

सर्बोत्कृष्ट खेलाडीको पुरस्कारका लागि वार्षिक २ लाख रुपैयाँका दरले जनता बैंकले पाँच वर्षसम्म प्रायोजन गर्ने भएको छ भने पत्रकारिता पुरस्कारका साथै अन्य व्यवस्थापकीय कामका लागि आदर्श समाज विकास केन्द्रले वार्षिक १ लाख रुपैयाँका दरले तीन वर्षसम्म प्रायोजन गर्ने भएको छ ।

जनता बैंक र आदर्श समाज विकास केन्द्रसँग संघले यसअघि नै सम्झौता गरिसकेको छ । अन्तर्रा्ष्ट्रिय मञ्चमा देशको शान उच्च राख्न अहोरात्र खटिने खेलाडीको प्रोत्साहनका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रत्येक वर्ष आयोजना गर्ने यो कार्यक्रम यसपाली झनै भव्य रुपमा सम्पन्न हुन लागेको एनएनआइपि ले जनाएको छ । कार्यक्रम शुक्रबार दिउसो ३ः३० बजे सुरु हुने छ ।