शहीद स्मारक ए डिभिजन लिग: नेपाल आर्मी र नेपाल पुलिस विजयी

शहीद स्मारक ए डिभिजन लिग: नेपाल आर्मी र नेपाल पुलिस विजयी
शुक्रबार, पुस १३, २०७५

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रवारको खेलमा दुई विभागीय नेपाल आर्मी र नेपाल पुलिस क्लव विजयी भएका छन ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रवार भएको दोस्रो खेलमा नेपाल पुलिसले थ्रीस्टारलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । थ्रीस्टारले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो । पुलिसको जितमा निरकुमार राई, अभिषेक रिजाल र भोला सिलवालले गोल गरे ।

यता, थ्रीस्टारका लागि भने मेसौम्बे अबाङ अल्बर्टले गोल गरेका थिए । खेलको १२औं मिनेटमा नै अल्बर्टले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । तर खेलको २०औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरी दिलाए । पहिलो हाफमा एक–एक गोलको बराबरी खेलेको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । पुलिसका लागि खेलको ४७ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै २–१ गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ५५औं मिनेटमा भोला सिलवालले गोल गर्दै पुलिसलाई ३–१ गोलको जित दिलाए । जितसँगै पुलिस लिगको पाँचौ स्थानमा उक्लिएको छ । पुलिसको ११ खेलबाट १८ अंक भएको छ ।

त्यस्तै, पराजित थ्रीस्टारको भने ११ खेलबाट २३ अंक रहेको छ । शुक्रवारै भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले सरस्वती युथ क्लबलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ । आर्मीले सरस्वती क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।