खप्तड गोल्डकप आर्मीले खेल्न नपाउने, अनुशासन कारबाही

खप्तड गोल्डकप आर्मीले खेल्न नपाउने, अनुशासन कारबाही
आइतवार, पुस १५, २०७५

काठमाडौं । मोफसलको सर्वाधिक धनराशिको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तयारी तीव्र पारिएको छ । पुस २३ गतेदेखि हुने प्रतियोगितालाई सिजी ब्रुअरीको नेपाल आइसले निरन्तर साथ दिएको छ । लगातार दोस्रो संस्करणको मुख्य प्रायोजक बनेको नेपाल आइसले शनिबार खप्तड गोल्डकप आयोजक सुदुरपश्चिम–११ स्पोर्टस् क्लबसँग सम्झौता प्रायोजना गरेको छ । सम्झौतामा आयोजकका अध्यक्ष सुरेश हमाल र सिजी ब्रिअरीको सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले हस्ताक्षर गर्दै सम्झौता पत्र आदान प्रदान गरे ।

सम्झौता रकम नखुलाइएपनि राम्रै रकमा हस्ताक्षर गरिएको नेपाल आइसका सिनियर जनरल म्यानेजर प्रदिप पुडासैनीले बताए । ‘कम्पनीको प्रवर्द्धन आफ्नो ठाउँमा छ । यो प्रतियोगिताले नेपाली फुटबलको विकासमा ठूलो सहयोग पुग्नेमा हामी विश्वस्त छौं । त्यसैले फेरीपनि खप्तड गोल्डकपसँग जोडिएका हौं,’ सम्झौतापछि सिजी ब्रुअरीका जनरल म्यानेजर पुडासैनीले भने, ‘हामी खप्तड गोल्डकपलाई निरन्तर सहयोग गर्दै जानेछौं । फेरीपनि फुटबलसँग जोडिन पाउनु कम्पनीको लागि गौरवको पक्ष हो ।’ आयोजकका अध्यक्ष सुरेश हमालले सहयोगी हातहरु बढ्दै गएको र नेपाल आइस फेरि पनि खप्तड गोल्डकपँग जोडिंदा आयोजकको हौसला बढेको बताए ।

प्रतियोगितमा १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, काकाडभित्ता ट्रेनिङ सेन्टर झापा, नेपाल एपिएफ क्लब, च्यासल युथ क्लब र आयोजक सुदुरपश्चिम ११ स्पोर्टस् क्लबको सहभागिता रहनेछ । यस्तै विदेशी क्लबहरुमा दिल्ली युनाइटेड रहेको छ । लिग च्याम्पियन बनेको मनाङको सहभागिता केही दिनमा टुंगो लाग्ने आयोजक टोलीका महासचिव प्रकाश शाहीले बताए । उनले एक विदेशी टोलीसहित सहभागी हुने अन्तिम टोलीको टुङ्गो केही दिनमै लाग्ने बताए ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल पाउनेछन् । विधागत तर्फका उत्कृष्ट खेलाडीहरुले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचले १० हजार पाउनेछन् । प्रतियोगिताको लागि अनुमानित बजेट १ करोड ४० लाख रुपैयाँ रहेको छ । रकमहरु विभिन्न प्रायोजकबाट पुर्ति गरिने आयोजकले जनाएको छ ।

यसैबीच, ए डिभिजन लिग खेलिरहेको त्रिभुवन आर्मी क्लबलाई अनुशासन कारवाही भन्दै खप्तड गोल्डकपको आयोजकले यस संस्करणमा सहभागी नगराउने बताएको छ । राजधानीमा शनिबार मुख्य प्रयोजन सम्झौता गर्ने कार्यक्रममा संचारकर्मीको प्रश्नमा जवाफ दिँदै आयोजक सुदूरपश्चिम ११ क्लबक अध्यक्ष सुरेश हमालले आर्मीलाई सहभागी नगराउने निर्णय लिएको बताए । उनले प्रतियोगिताको साविक विजेता आर्मीलाई कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराउने निर्णय गरेको जानकारी दिए ।

गतवर्ष सर्लाहीमा भएको राजश्री गोल्डकपको खेल दौरान मैदानमै आर्मीका खेलाडीले सुदुरपश्चिमका खेलाडीमाथि हातपात गरेको भन्दै कारवाही स्वरुप यो प्रतियोगितामा सहभागिता नगराइएको अध्यक्ष हमालले बताए । ‘हामीले यो प्रतियोगिताका लागि आर्मीलाई निमन्त्रणा नै गरेनौ । आर्मी राम्रो टोली हो तर, पछिल्लो वर्ष विभिन्न गोल्डकपमा अनुशासन राम्रो देखिएन,’ अध्यक्ष हमालले थपे, ‘जित्दा राम्रो हुने हार्न लाग्दा कुटपिटमा उत्रने आर्मीको व्यवहार मन नपरेकै कारण यो प्रतियोगितामा सहभागिता नगराइएको हो ।’ अध्यक्ष हमालले अर्को वर्ष भने यस निर्णयमा हेरफेर हुन सक्ने बताए ।