पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित

पाँच नम्बर प्रदेशको नाम र राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित
आइतवार, पुस १५, २०७५

मिना ढकाल/रुपन्देही । पाँच नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि पारित भएको छ ।

प्रदेशको नाम र स्थायी राजधानीको लागि ठाउँको नाम सिफारिस गर्न प्रदेश संसदले गठन गरेको बिशेष समितिले कार्यविधि पारित गरेको हो । प्रदेश ब्यबस्थापिका संसदको पुर्ण बैठकले गठन गरेको बिशेष समितिले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा प्रतिबेदन तयार गर्दा कस्ता बिषयलाई प्राथमिकता दिने भन्ने कुरा कार्यबिधिमा उल्लेख छ ।

प्रतिबेदन उपर सुझाव संकलनका लागि १२ वटै जिल्लामा प्रदेश सभा सदस्यहरु खटिने कार्यदल पनि बनाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिबेदन तयार पार्दा भौगोलिक, सामाजिक पक्षदेखि जनसंख्या, संघियताको मर्म, जनभावना, स्थानिय जनताको मनोबिज्ञान समेतको ख्याल गरि समाबेशिताको भावना समेतको कदर गरिनुपर्ने कार्यबिधिमा उल्लेख गरिएको सचिवालयले जनाएको छ ।

संसदको हिँउदे अधिबेशनले प्रदेशको नाम र स्थायी राजधानीको बिषय टुंगो लगाउने तयारी गरिरहेको सभामुख पुर्णबहादुर घर्तीले बताउनु भयो । संसदको बजेट अधिबेशनले गत साउन २४ गते प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने जिम्मेबारी सहितको बिशेष संसदिय समिति गठन गरेको थियो ।