विदेशी प्रशिक्षक भित्र्याउँदै एन्फा, स्वीडेनका जोन कालिन ल्याउने तयारी

विदेशी प्रशिक्षक भित्र्याउँदै एन्फा, स्वीडेनका जोन कालिन ल्याउने तयारी
सोमवार, पुस १६, २०७५

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबलका लागि फेरि विदेशी प्रशिक्षक ल्याउने भएको छ । नयाँ प्रशिक्षक छान्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक समितिले छलफल गरिरहेको छ ।

यसअघि जापानीज प्रशिक्षक ग्योतुको कोजीको भिसाका कारण फिर्ता भएपछि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी वालगोपाल महर्जनलाई दिइएको छ । विदेशी प्रशिक्षकको रुपमा अहिले एन्फाको प्राविधिक समितिले स्वीडेनका जोन कालिनलाई ल्याउने गरी छलफल गरेको छ ।

यसको पुष्टि गर्दै एन्फाका प्रवक्ता किरण राईले प्राविधिक समितिले केलिनसँग छलफल गरिरहेको तर अन्तिम निर्णय भने बाँकी रहेको बताए । कृष्ण बहादुर थापा, उपेन्द्रमान सिंह, दिनेश व्यञ्जनकार, कुमार राजभण्डारी र सञ्जीब मिश्र सम्मिलित समितिले उनीसँग पटक पटक छलफल गरिसकेको छ । तर प्राविधिक समितिले कालिनको बारेमा निर्णय गरेमा त्यसलाई एन्फाको कार्यसमितिको बैठकले अनुमोदन गर्नु पर्नेछ ।

एन्फाको कार्यसमितिको बैठक भने माघको ३ गते बस्ने र त्यसले प्राविधिक समितिले गरेको सिफारिसका आधारमा नयाँ प्रशिक्षकको टुंगो लगाउने प्रवक्ता राईले बताए । स्वीडेनका केलिनले यसअघि मछिन्द्र फुटबल सम्हालेका थिए । उनी यईएफएको ए श्रेणीको लाइसेन्स लिएका प्रशिक्षक हुन् । क्लबको प्रशिक्षक भएर काम गरे पनि राष्ट्रिय टिमको भने जिम्मेवारी लिएका छैनन् ।

४२ वर्षीय स्विडिस नागरिक कालिकलाई २ वर्षका लागि मुख्य प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विदेशी प्रशिक्षकको रुपमा कालिकालाई नियुक्ति प्रक्रिया अघि बढेको जानकारी दिए । कालिन कुनै पनि राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्न लागेको यो पहिलो पटक हो ।

उनले युरोपियन फुटबल महासंघ (युइएफए) ए डिप्लोमा कोर्स गरेका छन् । उनीसँग स्विडेनको एमेच्योर लिगको प्रशिक्षक भएको अनुभवका साथै स्विडेनको क्षेत्रीय स्तरका उमेर समूहका टिम सम्हालेको अनुभव छ ।कालिन नेपालमा प्रशिक्षक बन्न आउन लागेको यो दोस्रो पटक हो । कालिनलाई १ मार्च २०१९ देखि २८ फेब्रुअरी २०२१ सम्मका लागि प्रमुख प्रशिक्षकमा बनाउने एन्फा कार्यसमितिले निर्णय गरेको उल्लेख गरिएको छ ।

कालिन नेपालको राष्ट्रिय टिम सम्हाल्ने १७ औं विदेशी प्रशिक्षक हुनेछन् । यसअघि ३८ वर्षको इतिहासमा १४ जना विदेशी प्रशिक्षकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षक भएर काम गरेका थिए । नेपालको पहिलो विदेशी प्रशिक्षकको रुपमा सन् १९८१ मा जर्मनीका रुडी गुटेनडोफ नियुक्त भएका थिए ।