बिग ब्यास लिग क्रिकेटमा सन्दीपले आज चौथो खेल खेल्दै

बिग ब्यास लिग क्रिकेटमा सन्दीपले आज चौथो खेल खेल्दै
मङ्लबार, पुस १७, २०७५

काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा मङ्गलवार चौथो खेल खेल्दै छन् ।

सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग गर्न लागेको प्रतिस्पर्धामा सन्दिप लामिछानेले खेल्न लागेका हुन । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट लिइसकेका छन् ।

उनले डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै विकेट लिन सफल भएका थिए । पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको मेलबर्न रिनेगाडेसले चार अंक बनाएर लिगको दोस्रो स्थानमा छ । मेलबर्न स्टार्स भने लिगको छैटौं स्थानमा छ । उसले खेलेका तीन खेलमध्ये दुई खेलमा हार र एक खेलमा जित हात पारेको छ ।