जैतुन जोगाउन नसक्नु बाजुराको विडम्बना

जैतुन जोगाउन नसक्नु बाजुराको विडम्बना
बिहिबार, पुस १९, २०७५
– लक्ष्मण जोशी

बाजुराको विकासका लागि सक्रिय भइरहने सामाजिक अभियान्तासँग बेला–बेलामा गफिने मौका मिल्छ । तीन तहको प्रादेशि संरचनामा सवैभन्दा बढी स्थानीय सरकारसँग सन्निकटमा रहने हुँदा विकासका लागि उसले चालेका कदम नै बहसका प्रमुख विषय बन्नु नौलो भएन । बातचितकै क्रममा स्थानीय तहले गरेका कामसँग विकसित मुलुकले मारेको फड्को तथा विकासका मोडेलका कुरा आउँदा महाभारत लाग्छ मलाइ । आधारभूत आवश्यकता पूरा नभएको वास्तविकतामा गुज्रिएका हामी, कुरा कोरिया र क्यानडाका हुँदा अत्यास लाग्नु स्वभाविक ठहर्छ ।

त्यसो त बाजुरामा विकासका लागि सम्भावना नभएका पनि होइन् । अथाह प्राकृतिक सम्पदा छन्, जल जमिन र जंगलबाट पनि सम्भावना उत्तिकै देखिन्छ । एक दशक यता बाजुराको विकाससँगै जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको जैतुनको विषय जोड्नु अझ सादर्भिक होला । जैतुनका नाममा भित्रिएका कार्यक्रम र त्यसले पारेको प्रभावका विषयमा चर्चा गरिरहँदा यसको आसय कुनै ब्यक्तिको सम्पत्तिको खोजी गर्नु, पार्टी, र कुनै संघ–संस्थाकोे बिरोध तथा चरित्र हत्या गर्नु पटक्कै होइन । आँखाले जे देख्यो, त्यही लख्यो र व्यवहारमा जे भोगियो त्यही उतारिएको मात्र हो ।

तथ्य १.
बाजुरामा परम्परादेखि राष्ट्रिय वनहरुमा जंगली लौठ (जैतुन) भएपनि यसको उपयोगिता र बैज्ञानिक नामको बारेमा सन् २००६ जुनमा इटालीको तुसिया बिश्वविद्यालयसँग जनप्रकाश उ.मा.वि.को साझेदारी र एच.आर.सी.बाजुराको सहजीकरणमा सञ्चालनमा आएपछि मात्र बाजुराका केही समुदायले जान्ने र बुझने मौका पाएका हुन् ।

तथ्य २.
जनप्रकाश उ.मा.वि.मा २८ जातका ६ सय ३८ बिरुवा रोप्ने काम सम्पन्न पश्चात समुदायमा जैतुनको बारेमा जनचेतना फैलाउने क्रममा “बाजुराको गरिवी निवारणका लागि जैतुन” भन्ने नारा तय गरिएको थियो । आगामी दिनमा जैतुन नै जनप्रकाशको आम्दानीको मुख्य स्रोत हुने र यस क्षेत्रका जनताको कायापलट हुने बिश्वास गरिएको थियो ।

तथ्य ३.
जनप्रकाशमा लगाइएका २८ जातहरु मध्ये ४ वटा जात (नोचेलारा, कोराटिना, लेचिनो र पेण्डोलिनो) सिफारिस भएका छन् । जैतुनका नाममा १२ बर्षको अवधिमा १६ करोड भन्दा बढी लगानी भएको देखिन्छ । उत्पादनका हिसावले १० बर्षको अवधिमा उन्नत जातको जैतन बाट ५० केजी दानाबाट ८ लिटरसम्म तेल उत्पादन भएको देखिन्छ । जैतुन तेलको बजार मूल्य रु २०००।– देखि २५००।– सम्म छ । लागतका हिसावले बाजुरामा उन्नत जातको जैतुनको मुल्य प्रति लिटर रु २ करोडमा उत्पादन भएको देखिन्छ ।

तथ्य ४.
उन्ननत जातबाट उत्पादन भएको ८ लिटर र स्थानीय जात बाट निकालिएको ३९.६ लिटर तेल किसानहरुले देख्न र उपभोग समेत गर्न पाएको देखिदैन भने अहिले जनप्रकाशको ल्यावमा समेत देखिदैन । उत्पादन भएको तेल जिल्लाका कार्यालय प्रमुखदेखि मन्त्रालयका सचिव, राजनीतिक दलका नेता, कार्यकतादेखि देशका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई हस्तान्तरण गरेको फोटो सामाजिक संजालमा देख्न र पढन पाइएको थियो । कुनै पनि चिजप्रति माया हुनको लागि त्यसको स्वाद, महत्व र उपयोगिताको बारेमा जानकारी नभइ त्यसको संरक्षण हुँदैन ।

तथ्य ५.
जैतुनको आयु हजारौं बर्ष भने पनि स्थानीय प्रेम बहादुर अर्याल र नन्द बहादुर शाहीले लगाएको व्यक्तिगत बगैचाका बिरुवा नसुक्नु तर कार्यक्रम ‘फेज आउट’ भएसंगै जनप्रकाश उमाविमा लगाएका जैतुनका बिरुवामा फल्नुको साटो काँस फुले झै फुलिरहने हो भने यसले न जनताको गरिवी निवारण हुन्छ नत बिद्यालयको आम्दानी नै । तसर्थ जनप्रकाश र जैतुनका क्षेत्रमा भएके करोडौं लगानी बालुवामा पानी साबित हुनि निश्चित छ ।

तथ्य ६.
बाजुराको जैतुनका बारेमा साठीको दशकमा स्थानीय, राष्ट्रिय र अन्र्तराष्ट्रिय मिडियामा चर्चा परिचर्चा पाएसंगै नरेशकुमार शाही र कर्ण बहादुर थापाकोे पहलमा सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा सरकारले जैतुन कार्यक्रमलाई नीति तथा कार्यक्रममा ल्याए पश्चात बाजुरालाई जैतुन जोनको रुपमा घोषणा गरिए पश्चात जैतुन विकास केन्द्र कोल्टी र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (जोन÷जैतुन) पिलुचौरमा २०७३/२०७४ देखि २०८२/२०८३ सम्म काम गर्ने गरी स्थापना भएको हो ।

तथ्य ७.
जैतुनको क्षेत्रमा काम गर्नका लागि अग्नीराज शाही (गैसस महाँसघका अध्यक्ष) को अध्यक्षतामा सहकारीको प्राबधान अनुसार जैतुन सहकारी स्थापना भएको देखिन्छ । जैतुन सहकारीले केही समय सदस्यहरुबाट बचतलाई निरन्तरता दिएपनि अहिले बचतको कारोबार अलपत्र अवस्थामा छ । नेपाल सरकारको अनुदान सहयोगमा बुढीनन्दा नगरपालिका वडा नं १ मटेलामा रु ६० लाखमा निमार्ण गर्ने भनिएको जैतुन सहकारीको भवन ५ बर्ष देखि अलपत्र अवस्थामा छ । जैतुन सहकारीले बार्षिक १२,००० बिरुवा उत्पादन गर्ने लक्ष्य राखेर रु ३ लाख खर्च गरेर निमार्ण गरेको नर्सरीमा झार बाहेक केही छैन र देखिदैन ।

तथ्य ८.
जैतुनको क्षेत्रमा बुढीनन्दा नगरपालिका वडा नं १ मटेलामा हिमालय अर्गानिक ओलिभ फर्म तथा रिसर्च सेन्टर प्रालि सञ्चालनका लागि नीर बहादुर शाही, जनेश भण्डारी, नरेश कुमार शाही लगायतका ब्यक्तिले स्थापना गरेर काम गरेको देखिन्छ । उक्त कम्पनीले नेपाल सरकार फलफूल विकास निर्देशनालयबाट हाइटेक प्रविधिको नर्सरी स्थापनाका लागि ५० लाख, मेसिन खरिद र घर निमार्णका लागि रु ४० लाख अनुदान, जैतुन विकास केन्द्र कोल्टीबाट नर्सरी स्थापनाका लागि रु ३ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई(जोन÷जैतुन) पिलुचौरबाट सिंचाइ र घेरबारका लागि रु ६ लाख लिएको देखिन्छ । बिभिन्न स्रोतहरु बाट लिएको रकमको सही सदुपयोग भएको देखिदैन । बार्षिक १ लाख बिरुवा उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीको नर्सरीमा एक हजार बिरुवा पनि देखिदैनन् ।

तथ्य ९.
जोन कार्यक्रम घोषण संगै जैतुन विकास केन्द्रको कार्यालय कोल्टीमा स्थापना भएको छ । कार्यालयको मुख्य उद्देश्य जैतुनको सम्भाव्यता भएका १० जिल्लाका लागि जैतुन नर्सरी स्थापना र बिरुवा उत्पादन, जैतुन फार्म केन्द्र स्थापना र जैतुन प्रचार–प्रसार तथा तालिम कार्यक्रम संचालन गर्नु रहेको छ । फार्मका लागि प्राविधिक टोलीले साविकको जगन्नाथ गाविसको वडा नं ४ को मसाडेमा सिफारिस गरे पनि राजनीतिक पहुँचका आधारमा साविकको कोटिलाको सारिए पनि अहिलेसम्म जग्गा खरिद हुन सकेको छैन । आ.व २०७३÷०७४ मा जग्गा खरिदका लागि आएको रकम रु ८० लाख फ्रिज जानु, आ.व २०७४÷०७५ मा घर निमार्णका लागि आएको रुकम रु ७५ लाख फ्रिज जानुले यस बर्ष कार्यालय रहने नरहने अन्यौल देखिन्छ भने श्रावण यता कर्मचारीले तलब नपाएको र कार्यालय सहयोगीको रुपमा कार्यालय संचालनमा रहेको देखिन्छ । फार्म स्थापना गर्न नसक्दा करोडौ पैंशा फिर्ता हुनुले के बाजुराको विकास सम्भव होला ?

तथ्य १०.
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (जोन÷जैतुन) पिलुचौरमा कार्यालय स्थापनासंगै जोन विकास कार्यक्रम संचालन कार्यविधिमा आधारित रही ९ जनाको संञ्चालन समिति गठन गरिएको छ । कार्यालय बाट समुदायले प्रत्यक्ष राहत पाएका छन् । जसमा बाँधु मा.वि.मा प्राविधिक शिक्षालय स्थापना, भकारो सुधार कार्यक्रम र क्षेत्र बिस्तार कार्यक्रमका कारण अहिले जंगली जैतुनको संरक्षणमा सहयोग पुगेको देखिन्छ ।

विगत २ बर्षको प्रतिबेदनका आधारमा जोन संचालक समितिले योजना छनौट गर्दा समितिका सदस्यलाई प्राथमिकता दिएको देखिन्छ । जसमा कपुर अधिकारी र जनम धामीलाई नर्सरी स्थापनाका लागि रु ३० लाख अमृता खड्कालाई कष्टम हाइरिङ्गमा पिकअप भ्यान खरिदका लागि ८,४२,८५०। विनियोजन गर्नु र उक्त भ्यान व्यक्तिगत प्रयोजन गर्नु अधिकारी नर्सरीमा जमिनको माटो समेत सम्याएको देखिदैन ।

बाजुरामा सन् २००६ देखि २०१८ सम्म निजी साझेदारी, सहकारी, कम्पनी र सरकारी सबै मोडल लागू भएपनि जनतालाई प्रत्यक्ष लाभ पुगेको देखिंदैन । जैतुनका बिरुवा उत्पादन गर्नका लागि करोडौं लगानी गरिएका नसरीको बार्षिक बिरुवा उत्पादन क्षमता २ लाख ४२ हजार भए पनि यो बर्ष सबै नर्सरीको बिरुवा संख्या जोडने हो भने २० हजार भन्दा बढी देखिदैन । जैतुनको क्षेत्रमा काम गर्ने निकायहरुबिच समन्वय नहुँदा बिरुवा उत्पादनमा जोड दिनुको साटो मेसिन खरिदमा जोड दिएको देखिन्छ ।

गत वर्ष किसानहरुले स्थानीय जातको बिरुवा जिल्ला वन कार्यालयले स्थापना गरेका नर्सरी बाट प्रति बोट रु ५० र उन्नत जातको बिरुवाको प्रतिबोट रु २ सय ५० तिर्नु परेको थियो । जैतुनका नाममा स्थापना गरिएका नर्सरीहरु जनतालाई लाभ दिने खालका भन्दा पनि जनतालाई सेतो प्लाष्टिक र हरियो नेट हाउस देखाउनका लागि बनाए जस्तो देखिन्छ ।

बाजुरामा जंगली जैतुनको क्षेत्रफल ७०२ हेक्टर र जंगली जैतुनको बार्षिक उत्पादन क्षमता ५ हजार ६ सय ५ क्वीन्टल देखिन्छ । जैतुनको क्षेत्रमा काम गर्ने ब्यक्तित्वहरुले स्वदेशदेखि विदेशसम्म भ्रमण गर्दा देखेको, सुनेको र सिकेको सीप खै कहाँ लागू भयो ? त्यतिमात्र नभएर यस क्षेत्रमा सम्बद्ध राजनीतिज्ञ, शिक्षक, सामाजिक अभियन्ता, नागरिक अगुवा, राष्ट्र सेवक कर्मचारी लगायत सबैको उद्देश्य उही जैतुनबाट जीवन परिवर्तन चाहाने नै हो, यसमा कसैको दुईमत छैन ।

बि.स. २०६८ सालको जनगणना अनुसार बाजुरेलीको जनताको औषत आयु (३९ बर्ष) हेर्दा साह्रै टिढ लाग्दो छ । यस्तो अवस्थामा बाजुरेली जनताका फुटेका खुट्टा र चाउरिएका अनुहारमा जैतुनको तेल मालिस गर्ने सपना साकार पार्न खोजिनिति हुनैपर्छ । हामी कहाँ चुक्यौं त्यसका कारक के–के हुन् स्पष्ट हुनैपर्छ । अन्यथा ‘आकासको फल, आँखा तरी मर’ शिवाया अरु केही हुनेवाला छैन ।