खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम र झापा भिड्ने

खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम र झापा भिड्ने
शुक्रबार, पुस २०, २०७५

काठमाडौं । धनगढीमा आयोजना हुने नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी रंगशालामा पुस २४ गतेबाट हुने प्रतियोगिताको पहिलो खेलमा झापा आयोजक खेल्ने पक्का भएपनि बाँकि टाइसिट भने आयोजकले ट्रफि सार्वजनिक कार्यक्रममा गर्ने भएका छन् ।

आयोजक नेपाल आइस सुदुरपश्चिम–११ फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । पुसको सुरुवातदेखि तयारी तीव्र गतिमा अगाडी बढेपछि अब तयारी अन्तिम चरणमा पुगेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताए । प्रतियोगिता सञ्चालन हुने धनगढी रंगशालाको मैदान तयार गर्न भने बाँकी रहेको अध्यक्ष हमालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले प्रतियोगिता दौरान लगाउने जर्सी पनि सार्वजनिक गरिएको छ । क्लबले सुन्तला र निलो रंगको जर्सी प्रयोग गर्नेछ । यस प्रतियोगिताको मुख्य प्रायोजकको नाम जोड्दै क्लबको नाम नै नेपाल आईस सुदुरपश्चिम–११ स्पोर्टस क्लब रहने भएको छ ।

प्रतियोगितामा आयोजक बाहेक ए डिभिजनका ६ क्लबसहित देशका विभिन्न स्थानका तीन क्लब तथा दुई वटा विदेशी टोली गरेर कुल १२ टोलीले पनि सहभागीता जनाउने छन् । ए डिभिजन विजेता मनाङ मर्स्याङदी, उपविजेता संकटासँगै रुस्लान, भ्याली च्यासल युवा क्लव, विभागीय टीम नेपाल पुलिस र नेपाल एपिएफ क्लबले सहभागीता जनाउने भएका छन् । त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता ट्रेनिङ सेन्टर झापा र मोरङ ११ स्पोर्टस क्लबले पनि प्रतिस्पर्धा गर्नेछन् ।

विदेशी क्लबका रुपमा भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब आउने भएका छन् । मंगलबार हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब र मेची नेत्रालय काकरभित्ता फुटबल ट्रेनिङ सेन्टरले प्रतिस्पर्धा गर्नेछन् ।

अन्य खेलको पूर्ण तालिका भने ए डिभिजन लिगको तालिका हेरेर प्रकाशन गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दर पनि तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ ।