ए डिभिजन लिगः को बन्ला तेस्रो, थ्रीस्टार कि आर्मी ?

ए डिभिजन लिगः को बन्ला तेस्रो, थ्रीस्टार कि आर्मी ?
शुक्रबार, पुस २०, २०७५

अन्तिम चरणका खेल शनिबारबाट

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगको यो संस्करण आउँदो मंगलबार सकिने भएको छ । लिगको १३ मध्य १२औं चरणका खेल समाप्ति भइसकेका छन् । जसमा च्याम्पियन हुने र उपविजेता हुने दुई टोलीको टुंगो लागिसकेको छ भने तेस्रो स्थानको टुंगो लाग्न बाँकी छ ।

बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । जस अनुसार यो लिगको अन्तिम खेल हिमालयन शेर्पा क्लब र थ्रीस्टार क्लबवीच हुनेछ । लिगमा मनाङ् मस्र्याङ्दी पहिलो र संकटा दोस्रो भइसकेका छन् । शनिबार हलचोक मैदानमा जावलाखेल युथ क्लब र च्यासल युवा क्लबवीच खेल हुनेछ ।

सोही मैदानमा सरस्वती युवा क्लब र नेपाल पुलिस क्लब खेल्नेछन् । आइतबार एटनारटी र बिग्रगेड ब्वाइज क्लब तथा फ्रेण्डस् र मनाङ मस्र्याङ्दी क्लब आमने सामने हुनेछन् । सोमबार मछिन्द्र र आर्मी तथा संकटा र एपीएफ खेल्नेछन् । अन्तिम दिन थ्रीस्टार र हिमालयन शेर्पा क्लब खेल्नेछन् ।

थ्रीस्टार तेस्रो बन्ने दाउमा 

लिग विजेता बन्ने सपना बुनेको थ्रीस्टार क्लब अन्तत तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दैछ । पुष २४ गते लिगको समापन दिनमा थ्रीस्टार क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । तेस्रो स्थान हासिल गर्न थ्रीस्टारलाई जित अनिवार्य छ । थ्रीस्टारले जित हात पारे ए डिभिजन लिगमा तेस्रो स्थान हासिल गर्ने छ  अन्यथा उक्त स्थान आर्मीले खोस्न पनि सक्नेछ ।

प्रतियोगिता सुरु हुनुपूर्व उपाधि जित्ने लक्ष्य बनाएको अर्का विभागीय टिम हो, आर्मी । तर अहिले आर्मीको लक्ष्य तेस्रो स्थानमा खुम्चिएको छ । आर्मीले अन्तिम खेलमा मछिन्द्र फुटबल क्लबसँग पुस २३ गते प्रतिस्पर्धा गर्दैछ । तेस्रो हुन यो खेलमा आर्मीले जितेर मात्रै पुग्दैन । यता, थ्रीस्टार हिमालयन शेर्पासँग बराबरी या पराजित हुनुपर्छ । १२ खेलबाट २३ अंक बनाएको थ्रीस्टार लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंक बनाएको आर्मी चौथो स्थानमा छ । थ्रीस्टारभन्दा आर्मी एक अंकले मात्रै पछि रहेको छ ।

यो वर्ष रेलिगेसन नभए पनि अर्को वर्ष हुने लिगमा भने १४ औं स्थामा हुने टिमको दुई अंक घट्ने हुनाले दुबै टिम अन्तिम खेल जितेर अन्तिम स्थान छाड्ने लक्ष्यमा छन् । त्यस्तै, १३ औं स्थानमा हुने टिमको एक अंकमात्र घट्नेछ ।

उत्कृष्ट खेलाडीलाई अवार्ड 

ए डिभिजन लिग अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने युवा खेलाडीलाई ‘मणि विक्रम शाह युवा खेलाडी अवार्ड’ प्रदान गरिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो । राष्ट्रिय टोलीका पूर्व कप्तान स्वर्गीय मणि विक्रम शाहको स्मृतिमा पुरस्कार प्रदान गरिने भएको हो । यस अवार्ड प्राप्त गर्ने खेलाडीले १ लाख रुपैयाँ पनि प्राप्त गर्नेछन् । शाहको यसै वर्ष वैशाखमा निधन भएको थियो ।

आफ्नो खेल कौशलका कारण सबैमाझ लोकप्रिय रहेका शाहको उपचारको क्रममा निधन भएको थियो । उनले आफ्नो खेल जीवनमा नेपाली फुटबललाई सम्झना दिलाउने थुप्रै सफलता दिलाएका थिए । त्यसमध्ये सन् १९९३ मा दक्षिण एसियाली फुटबलमा नेपालले स्वर्ण जित्दा उनले गरेको फ्रिकिक गोलको चर्चा अहिले पनि उत्तिकै हुने गरेको छ ।

उक्त फाइनलमा २–१ ले पछि परेको अवस्थामा मणिले खेल सकिन ३० सेकेण्ड बाँकी रहँदा फ्रिकिकमार्फत लोभलाग्दो गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्न सफल भएको थियो । नेपाली टिमबाट सन् १९८५ बाट १९९८ सम्म ४८ खेल खेलेका मणिको नाममा अन्तर्राष्ट्रिय ६ गोल रहेको छ ।