ए डिभिजन लिग: शनिवारदेखि अन्तिम चरणका खेल सुरु

ए डिभिजन लिग: शनिवारदेखि अन्तिम चरणका खेल सुरु
शनिबार, पुस २१, २०७५

काठमाडौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत् शनिवारदेखि लिगको अन्तिम चरणका खेल सुरु भएका छन् ।

असोज १३ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ औँ चरणका खेल सकिएका छन् । ११ औँ चरणको खेलबाट ए डिभिजन लिगको उपाधि मनाङ मसर््याङ्दी क्लबले जिते पनि १२ औँ चरणको नतिजापछि संकटा क्लब लिग उपविजेता बनि सकेको छ । शनिवारदेखि सुरु १३ औँ चरणको नतिजाले तालिकाको तेस्रोदेखि पाँचौँ स्थानसम्मको टोलीको टुंगो लाग्ने छ ।

प्रतियोगीता अन्तर्गत् अहिले एपीएफ मैदान हलचोकमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लब बीच प्रतिस्पर्धा भई रहेको छ । १४ टिम सहभागी जारी लिगमा च्यासल आठौँ स्थानमा छ भने जावलाखेल दशौँ स्थानमा छ ।

शनिवार दिउँसो साढे २ बजे पछि नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् । छैटौँ स्थानमा रहेको पुलिस विजयी भए पाँचौँ स्थानमा उक्लने छ भने नवौँ स्थानको सरस्वती विजयी भए आठौँ स्थानमा पुग्नेछ ।