सहमति अनुसारको विधेयक पारित नगरे आमरण अनसन बस्ने डा.केसीको माग

सहमति अनुसारको विधेयक पारित नगरे आमरण अनसन बस्ने डा.केसीको माग
सोमवार, पुस २३, २०७५

काठमाडौ । वरिष्ठ चिकित्सक गोविन्द केसीले संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको प्रतिवेदन तत्काल सच्याउन माग गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति विपरित चिकित्सा शिक्षा विधेयक माफियाको पक्षपोषण हुने गरी शिक्षा तथा स्वास्थ्य उपसमितिले तयार पारेको भन्दै त्यसलाई तत्काल सच्याउन माग गर्नु भएको हो । उहाँले सोमवार बिहान काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफूसँग भएको सहमति अनुसार सो विधेयक समितिले पुस २५ गते बुधबार भित्र पारित नगरे आमरण अनसन बस्न बाध्य हुने चेतावनी पनि दिनु भयो ।

उपसमितिको आईतबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति विपरित विधेयक पारित गरेको थियो । वरिष्ठ चिकित्सक केसीले विधेयकमा आफूसँग भएको सहमतिमा एउटा शब्द पनि तलमाथि परे त्यसको विरोधमा आम जनतालाई साथमा लिएर आन्दोलनमा जान बाध्य हुने पनि बताउनु भयो ।

वरिष्ठ चिकित्सक केसीले आफूसँग भएको सहमति अनुसार विधेयक पारित गर्ने शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीमगरले प्रतिवद्धता जनाएपछि आफूले पुस २५ गतेसम्मको समय दिएको पनि स्मरण गराउनु भयो ।

उहाँले सबै प्रदेशमा १÷१ वटा मेडिकल कलेज खोल्ने कार्यलाई तत्काल अघि बढाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।