‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन

‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन
सोमवार, पुस २३, २०७५

काठमाडौ । सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई निर्देशन दिईएको जानकारी गराउनु भएको हो । सोमवार संघीय संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले सम्मेलनमा बाह्य लगानी भित्र्याउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास पनि व्यक्त गर्नु भयो । सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुतहरुको नियुक्ती संविधान सम्मत ढंगले अघि बढाइएको पनि बताउनु भयो । उहाँले राजदुत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दावी समेत गर्नु भयो । परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तीमा उमेर हद तोक्ने विषयमा छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राजदुत नियुक्तीलाई समावेशी बनाउन सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । बैठकमा समितिका सदस्यहरुले राजदुत नियुक्ती समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए । नेपालले हालसम्म १ सय ६३ वटा मुलुकसँग कूटनीतिक सम्बन्ध कायम राखेको छ ।