बिभिन्न माग राख्दै कांग्रेसबाट राष्ट्रियसभाको बैठक अवरुद्ध

बिभिन्न माग राख्दै कांग्रेसबाट राष्ट्रियसभाको बैठक अवरुद्ध
सोमवार, माघ ७, २०७५

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्ब केन्द्र सरकार मातहत राख्न माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाको सोमवारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले ती दुई संस्थालाई तत्काल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म सदन चल्न नदिने भन्दै अवरोध गरेको हो । राष्टियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराउना साथै कांग्रेसका सांसदहरुले ढ्यापढ्याप गरी सदनको ध्यानाकर्षण गराएका थिए ।

नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक सरिता प्रसाईँले मुलुकभरका ११ मध्ये ९ वटा उपचार केन्द्रलाई संघीय सरकार मातहत राख्ने र बाँकी दुईलाई मात्रै संघीय सरकार मातहत नल्याई त्यत्तिकै राख्ने सरकारको निर्णय प्रति गम्भीर आपत्ती जनाउदै ती दुई संस्थालाई पनि केन्द्रीय सरकार मातहत ल्याउने निर्णय नभइन्जेल सदनको कारवाही अघि बढ्न नसक्ने बताउनुभयो ।

अध्यक्षको अनुमतिमा सरकारका तर्फबाट स्वास्थय तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले दुई अस्पताल खारेज हुने वा नहुने भन्ने कुनै पनि निर्णय नभएको जानकारी गराएपछि पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डेले पनि २ संस्थाका बारेमा प्रष्ट निर्णय नआएसम्म सदनको कारवाही अघि नबढाउन माग गर्नुभयो । आसन ग्रहणका लागि अध्यक्षको पटक पटकको आग्रहपछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाईरहे पछि जनाईरहेपछि बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।