६२ गोलिया अवैध काठ सहित चारजना उपभोक्ताको नियन्त्रणमा

६२ गोलिया अवैध काठ सहित चारजना उपभोक्ताको  नियन्त्रणमा
बुधबार, माघ २३, २०७५

रामहरि न्यौपाने/नुवाकोट । नुवाकोटको तारकेश्वर गाँउपालिका–४ बुधसिंहस्थित सामुदायिक वनबाट चोरी गरेर लैजाँदै गरेको अवैध काठ सहित चार जनालाई उपभोक्ताले नियन्त्रणमा लिएका छन् ।

नेवारपानी ढोडपाखा सामुदायिक वनबाट बुधवार अवैध रुपमा रुख कटान गरी लैजाँदै गरेको ६२ गोलिया काठ सहित एक मिनीट्रक र काठ काट्न प्रयोग हुने आरो सहित चोरीमा संलग्न चार जनालाई सामुदायिक वनका उपभोक्ताले समातेर कारवाहीका लागि वन कार्यालयलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा बा.४ ख ६३५१ नं. को गाडी सहित त्यसका चालक नुवाकोट शिवपुरी गाँउपालिका–१ का राजेश तामाङ, वडा नं. ३ का टिका लामा र राजकुमार लामा तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ का सुजन तामाङ रहेका छन् ।

उनीहरुले रातको समयमा सामुदायिक वनबाट २२ वटा खोटेसल्लाको रुख कटान गरी गोलिया बनाएर गाडीमा राखेर लैजाँदै गरेको अवस्थामा उपभोक्ताले नियन्त्रणमा लिएर कारवाहीका लागी वन कार्यालयमा बुझाएको डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले जानकारी दिनुभयो ।